बाँकेमा २४ बर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अगाामी माघ ११ देखि १३ गतेसम्म नेपालगन्जको कभर्ड हलमा राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । संघले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको घोषणा गर्दै त्यसको तयारी सुरु भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्पादनमा प्रोत्साहित हुनुका साथै त्यसलै आर्थिक रूपमा पनि जिल्लामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
‘तीन दिनसम्म चल्ने राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा पाँच वटा विधा राखिएको छ’, आयोजक संघ अध्यक्ष सञ्जय थापाले भने, ‘पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५+ भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ ।’ प्रतियोगितालाई रोचक र प्रभावकारी तथा देश भरी बाँके जिल्लाको पहिचान गराउन नेपालका राष्ट्रिय खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपालभरीबाट १ सय ५० जना बढी खेलाडीहरूले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट संचालन गर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरू आउने भएका छन् ।
प्रतियोगिताको आयोजनामा ३१ लाख २७ हजार लागत अनुमान गरिएको छ । जसका लागि प्रदेश सरकार लगायतबाट स्रोत जुटाइने आयोजकले जानकारी दिएका छन् ।