सहकारीमा अपचलन : ‘१९ जनालाई कैद र जरिवाना’

जिल्ला अदालत बाँकेले सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगन्जमा भएको रकम हिनामिना (अपचलन), ठगी, संगठित अपराध सम्बन्धी मुद्दामा सजाय तोकेको छ । यसअघि कसुर निर्धारणको आदेश गरेको बिहीबार सजाय निर्धारण गरेको हो । जिल्ला न्यायाधीश इन्द्र बहादुर कठायतले उक्त मुद्दामा १९ जनालाई दोषी ठहर्याउँदै सजाय निर्धारण गरेका हुन् । अदालतले दोषीलाई कसुरको हदैसम्मको सजायको फैसला गरेको छ ।
अदालतले पूर्व अध्यक्ष, पदाधिकारी तथा कर्मचारीलाई दोषी ठहर्याउँदै यसअघि तोकिएको कसुरमा हदैसम्मको सजायको फैसला गरेको छ ।
अदालतले अध्यक्षको भूमिकामा रहेका प्रतिवादीहरू सिद्दी कुमार महर्जन, अम्बर बहादुर खड्का र हरदेब बक्स चौधरीलाई जेल तथा जरिवानाको सजायको फैसला गरेको छ ।
सहकारीमा अध्यक्षको जिम्मेवारी सम्हालेका अम्बर बहादुर खड्का र हरदेव बक्स चौधरीलाई पाँच बर्ष कैद र ५० हजार जरिवानाको सजाय
पाएका छन् । अध्यक्षको जिम्मेवारी सम्हालेका सिद्धि कुमार महर्जनलाई अदालतले २ बर्ष ६ महिना कैद
र ५० हजार जरिवानाको फैसला गरको छ ।


लेखासमितिका पदाधिकारीका रूपमा सहकारीमा कार्यरत रहेका प्रतिवादीहरू लिला शाह, स्थिरमणी बज्राचार्य र सन्धि भन्ने सन्दिप शर्मालाई १ (एक) वर्ष कैद र ५ हजार जरिवानाको फैसला अदालतले गरेको छ । तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई बर्ष कैद र पाँच हजार जरिवानाको फैसला अदालतले गरेको हो ।
सहकारी संस्थाको कर्मचारीको भूमिकामा रहेका प्रतिवादी शारदा थापा मगरलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, रविन्द्र कुमार थापालाई तीन वर्ष कैद र रु.५ हजार जरिवाना अदालतले गरेको छ ।
अदालतले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीलाई ४ करोड ४८ लाख ९ सय ५९ विगो कायम हुनेगरी कसूर निर्धारण भएकोले ५ वर्ष कैद र ५० हजार जरिवाना, गंगाधर सुवेदीलाई २ करोड ८३ लाख ८३ हजार २ सय ९५ विगो, पाँच वर्ष कैद र ५० हजार जरिवाना, अरूण कुमार पाठकलाई २४ करोड ९१ लाख ३३ हजार ४ सय २८ विगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला अदालतले गरेको छ ।
जिल्ला अदालतले बलराम यादवलाई ५३ लाख ७९ हजार ६ सय ५२ बिगो, चार वर्ष कैद र ४० हजार जरिवाना, सुर्यबहादुर वि.क.लाई ३३ लाख ६० हजार ६ सय ८१ बिगो, ५ वर्ष कैद र ५० हजार जरिवाना, लिलाधर भन्ने लिलाप्रसाद वलीलाई ८९ लाख २९ हजार ७ सय २५ बिगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको पैmसला गरेको छ ।
गौरब श्रेष्ठलाई १ ला २९ हजार ४ सय ९१ बिगो, चार वर्ष कैद र ४० हजार जरिवाना, किरण श्रेष्ठलाई ८६ लाख ३५ हजार ४ सय ५४ बिगो, पाँच वर्ष कैद र ५० हजार
जरिवाना, सुरतराम खटिकलाई ९८ लाख ४८ हजार २ सय ४७ बिगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला अदालतले गरेको हो ।
‘कसूर निर्धारण खण्डमा विगो कायम भएका र सजाय निर्धारण खण्डमा प्रतिवादीहरूले तिर्नु बुझाउनुपर्ने ठहरेको विगो तत्काल असूल उपर गरी पीडित जाहेरवालाहरूलाई भराइदिनुपर्ने भएकाले विगो कायम भएका प्रतिवादीहरूले अदालतमा राखेको जेथा धरौट तथा निजहरूले सहकारी संस्थामा राखेको जेथा जमानत समेतबाट कानूनबमोजिम यथाशीघ्र असूल उपर उपर गरी, पीडित जाहेरवालाहरूलाई भराइदिने समेत ठहर्छ’, अदालतले फैसलामा भनेको छ । उक्त मुद्दामा कुल ४१ जना प्रतिवादी रहेका थिए । अदालतले यसअघि नै कसुर निर्धारण गर्दा केहीलाई सफाई दिइसकेको
छ ।

Exit mobile version