चालु आर्थिक बर्षको नौ माहिनामा मात्रै बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएको उक्त उजुरीहरू जिल्लामै फस्र्याैट भएको संख्या भने न्यून रहेको छ ।
जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक लाभ लिएको सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी ८० वटा उजुरी साउनदेखि चैत्रसम्म जिल्ला प्रहरीमा आएको जानकारी दिए ।
बाँके प्रहरीले आर्थिक लाभ सम्बन्धी ५ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी २ वटा उजुरी जिल्लामै फस्र्यौट गरेको छ ।
प्रहरीले आर्थिक लाभ सम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भैरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाएको जानकारी दिएको छ ।
अनुसन्धान नै चुनौति
पछिल्ला दिन सामाजिक सञ्जालमा ठगीको प्रयासका भएको भन्दै सचेत रहन प्रयोगकर्ताहरू आफैले पोष्ट गर्दै आएका छन् । सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट पैसा पठाइदिन अनुरोध गरिएका म्यासेजमा पठाइएका खाता नम्बर अपरिचितको हुँदा सचेत व्यक्तिले त्यसखालका ठगीको प्रयासका पोष्ट गर्दै आएका हुन् । ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइन्छ ।
चिठ्ठा, तालिम, बैंक खाताको ओटिपी माग गरी ठगी भैरहेको बारे प्रहरीले सचेत गराउँदै आएको छ । यद्यपि, साइबर सुरक्षा सम्बन्धी सचेतना नहुँदा धेरै व्यक्तिहरू ठगिएपछि प्रहरी कहाँ पुग्ने गरेका छन् । त्यस बाहेक सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपालमा साइबर सुरक्षासँग जोडिएका फरक फरक खालका चुनौतिहरू छन् । स्थानीय तहमा हेर्ने हो भने सचेतनाको कमी छ । त्यसैगरी सूचना प्रविधिको विशेषज्ञको दृष्टिकोणबाट हेर्ने हो भने नयाँ नयाँ तरिकाका जोखिमहरूबाट कसरी सुरक्षा दिने भन्ने चुनौती छ ।
अहिले बढिजसो समस्या युवा पिँढीमा साइबर बुलिंगको देखिएको छ । कलेज बढ्ने किशोरीहरू यसबाट पीडित बनेका छन् । अहिले युवा पिँढीमा हुने सम्बन्धका कारण हरेक खाले क्रियाकलापहरू साटासाट हुने गर्छ । उदाहरणका लागि नीजि तथा न्यूड फोटोहरू साटासाट हुन्छन । तर त्यो सम्बन्ध सधैं त्यस्तै रहन्छ भन्ने हुँदैन । भोली कुनै समस्याले छुट्टिनु परेमा त्यो कुराहरूको गलत प्रयोग हुनसक्छ । यस्तो सम्म पाइएको छ की त्यस्ता फोटोहरूको दुरूपयोग गरेर मानसिक तनाव दिएका कारण आत्महत्यासम्म भएका छन् । मानव बेचबिखन, धम्कीबाट असुली लगायतका लागि पनि प्रविधिको प्रयोग हुँदै आएको छ ।
साइबर अपराध प्रविधिसँग जोडिएको विषय भएकाले अनुसन्धानमा चुनौति हुने गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी बताउँछन् । ‘जिल्लामा उजुरी पर्दा दोषी विश्वभर कही पनि हुनसक्छ ?’, उनी भन्छन्, ‘त्यसैले साइबर अपराधको अनुसन्धानका विषयहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत पठाउने गरेका छौं ।’ ‘सामाजिक सञ्जालको प्रयोग गरेर धेरै अपराध बढेका छन्’, बाँके प्रहरी प्रवक्ता डाँगी भन्छन्, ‘सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक ठगी भएका सम्बन्धी मात्रै १८ वटा उजुरी हामी कहाँ आएका छन् ।’प्रवक्ता डाँगी जिल्लामा भएका स्रोत साधनको प्रयोग गरेर अनुसन्धान गर्दै आएको बताउँछन् । ‘सूचना प्रविधिको युगमा त्यससँग जोडिएका अपराध अनुसन्धान गर्न चुनौति छ’, उनी भन्छन् ।
नेपालमा सूचना प्रविधिको विकास भएको दुई दशक बढी भएको छ । यहाँ साइबर सुरक्षासँग जोडिएका दक्ष जनशक्ति पनि कमी छ । ‘जब सेवाहरू पूर्ण प्रविधियुक्त हुन्छन् तब सुरक्षा जोखिमपनि बढ्छ । घट्ने होइन । जस्तै बैंक खाता छ भने त्यो ह्याक हुने खतरा हुन्छ । तर यस्तो जोखिम कम गर्न पूर्व तयारी हुनु जरुरी छ,’ प्रविधि सम्बद्ध विज्ञहरू भन्छन्, ‘कसरी प्रविधिबाट हुने अपराधबाट जोगिने भन्ने तर्फ प्रयोगकर्ता आफै पनि सजग हुन आवश्यक छ ।’
बाँके प्रहरी प्रवक्ता डाँगी साइबर सम्बन्धी ज्ञान प्रयोगकर्ताले बढाउन आवश्यक रहेको बताउँछन् । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना आइडी कति सुरक्षित छन् बुझन्पर्ने हुन्छ’, उनी भन्छन्, ‘पासवर्ड सेक्युरिटीमा सजगता अपनाउनु पर्ने देखिन्छ ।’