नेपाल–भारत सीमा ‘हाइ अलर्ट’

नेपाल–भारत सीमामा ‘हाइ अलर्ट’ सुरक्षा व्यवस्था बनाइएको छ । भारतको अयोध्यामा नव निर्मित राम मन्दिर प्राणप्रतिष्ठालाई मध्यनजर भारतले सुरक्षा व्यवस्थामा ‘हाइ अलर्ट’ बनाएको हो ।

लामो कानुनी विवादको टुंगो र बाबरी मस्जिदको विवादास्पद सवालसँगै अयोध्यामा श्रीराम मन्दिरमा जनवरी २२ मा आयोजना हुने प्राण प्रतिष्ठालाई लिएर हुनसक्ने सम्भावित जोखिमविरुद्ध सुरक्षा सतर्कता अपनाइएको भारतीय अधिकारीहरु बताउँछन् ।

नेपालसँग सिमाना गाँसिएको भारतीय सीमावर्ती जिल्ला बहराइचका सुरक्षा अधिकारीहरूले यहाँस्थित नेपाल भारत सिमानाको निरीक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

भारतको बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी वृन्दा शुक्लाको नेतृत्वमा रहेको सुरक्षा अधिकारीहरूको एक टोलीले यहाँस्थित नेपाल भारत नाकाको निरीक्षण गरेर सुरक्षा अवस्थाको जानकारी लिएको हो ।

बहराइचका प्रहरी प्रमुख एसपी शुक्लाले रुपैडिहा नाकामा पुगेर भारतीय सुरक्षा चेकपोष्टहरुको निरीक्षण गर्नुका साथै नेपाल भारत नाका जमुनाहाको दशगजासम्म पुगेर दुवै देशका नागरिकहरूको आवागमन र सुरक्षा चेकजाँच बारे जानकारी लिएको बताए ।

२२ जनवरीमा अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठा, २६ जनवरीको गणतन्त्र दिवस र केही महिनापछि हुने लोकसभाको निर्वाचनका लागि नाकामा विशेष सुरक्षा व्यवस्थाका लागि निरीक्षण गरिएको सुरक्षा अधिकारीको भनाइ छ ।

यसैबीच, दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको विहीवार बसेको संयुक्त बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने र सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बसेको हो । भारतीय सीमा क्षेत्रका जिल्ला महाराजगञ्ज र सिद्धार्थनगरका जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग विहीवार रुपन्देहीमा संयुक्त बैठक भएको थियो । बैठकले सीमा क्षेत्रमा हुने हतियार तस्करी, लागुऔषध ओसारपसार, मानवबेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै प्रकारका कानुन परिपालन गराउने र सूचना आदानप्रदान गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

नेपाल–भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा लागुऔषध, हतियार, सीमा सडक, मानव तस्करी, सीमावर्ती दशगजा क्षेत्रमा सञ्चालित साप्ताहिक हाटबजारका कारण नेपालको राजस्व तथा व्यापारमा परेको नकारात्मक प्रभाव र हाटबजारमा भीडभाड भएको मौका छोपेर गलत क्रियाकलाप हुने सम्भावना आपाराधिक गतिविधिलाई बढावा पुग्ने सम्भावना देखिएकाले त्यसलाई हटाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा नेपालको जनकपुरधामबाट सुन–चाँदीका गरगहनासहित १५ सयभन्दा बढी भार पठाइएको छ ।

विश्वप्रसिद्ध जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा जनकपुरधामबाट कोसेलीका रूपमा सुन तथा चाँदीबाट निर्मित गरगहना, चाँदीका धनुषवाण र पादुका, वस्त्र, आभूषण, फर्निचर, भाँडावर्तन, मिठाई, फलफूल, चुरा, चामलसहितका परिकार अयोध्या पठाइएको हो ।

Exit mobile version