विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसुङ मोवाइल फोनहरू बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम बुधबारबाट नेपालगन्जको धम्बोजी चोकमा सञ्चालनमा आएको छ । शोरुमको प्रतिनिधिसभा सदस्य धवल समशेर राणा, नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट, स्विच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा उद्घाटन गरे ।
काठमाडौँ उपत्यका भित्र दुईवटा ठाउँ, नक्शाल र भक्तपुर गठ्ठाघरमा संचालनमा रहेको स्विच अनको तेस्रो शोरुम नेपालगन्जमा सञ्चालनमा ल्याइएको हो । शो रुम उद्घाटनमा प्रबन्ध निर्देशक गोल्छाले शोरुम नेपालगन्जमा खोल्नुको उद्देश्य प्रष्ट पार्दै भनिन्, ‘नेपालगन्ज ठुलो महत्वको बजार हो । यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको सहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो ।’ उनले नेपालगन्जमा शोरुम सञ्चालन गरिएपनि आसपासका क्षेत्रका सेवाग्राहीलाई पनि सेवा प्रदान गरिने बताइन् । बिगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुम मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिङ्ग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरू किन्ने भरपर्दो गन्तव्य बन्दै आएको कम्पनीका मार्केटिङ्ग हेर्दै आएका अनिल श्रेष्ठले जानकारी दिए ।
शोरुमहरूमा ग्राहकहरूको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नगर प्रमुख विष्टले शोरुम अवलोकन गर्दै सहजै किस्ताबन्दीको व्यवस्थाले सेवाग्राहीलाई नयाँ इलेक्ट्रोनिक्स सामान प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।
किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिंदै श्रीमती गोल्छाले भनिन्, ‘यो एक्दमै ग्राहक मैत्री र सजिलो छ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बढी समय लाग्दैन ।’
हाल स्विच अन शोरुममा सामशुङ, हिमस्टार, गलान्ज, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ ।