१. सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
२. वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
३. लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेतलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
४. कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका हुन् । पछिल्लो समय कालीकोटमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी, सुगन्धवाललगायतका जडीबुटीको अभाव हुन थालेको खाँडाचक्र नगरपालिका–१ जडीबुटी व्यवसायी अजबहादुर गिरीले बताए ।
५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले बिहीबार र शुक्रबार पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
६. सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको हो ।
७. नवनियुक्त महालेखापरीक्षक तोयम रायाले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका थिए ।
८. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरिएको हो ।