नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम गरेको छ । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व र केन्द्रीय सदस्य डा. गोपाल दहितको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुरमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दहितले देशमा भए गरेका विकास निर्माणका काममा नेपाली कांग्रेसले महŒवपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् । ‘कांग्रेसको इतिहास हेर्नूस्, देश परिवर्तनका लागि कांग्रेसले कति महŒवपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘कांग्रेसबिना देश समृद्ध र समुन्नत हुँदैन ।’
जनताले पनि योगदानका आधारमा दल छनोट गर्नुपर्ने भन्दै उनले भने, ‘जनताको सहजताको लागि जनप्रतिनिधिले काम गर्नु पर्छ । जसबाट जनताले नेपाली कांग्रेसका जनप्रतिनिधिबाट केही फरक अनुभूति गरुन् ।’ उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि जनताका समस्या र समाज विकासका लागि इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न अपील गरे ।
क्षेत्रीय सभापति केसीले आफ्नो क्षेत्र नम्बरका समस्या र समाधानका विषयमा धारणा राखेका थिए । उनले अझ उर्जाका साथ जनताको घरदैलोमा पुग्न पनि सबैलाई आग्रह गरे । ‘हामीले काम गर्ने भनेकै जनताका लागि हो,’ उनले भने, ‘सहर बजारमा बसेर जनताका समस्या बुझ्न सकिँदैन । त्यसैले हामी प्रत्यक्षरुपमा जनताको घरदैलोमा पुग्न जरुरी छ ।’ ‘हामी जनताकै साथमा छौं । उनकै कामका दौडिरहेका पनि छौं । जनताले विश्वास पनि गरेका छन्,’ उनी भन्छन्, ‘तर, यतिले मात्र पुग्दैन । अझ मिहेनत गर्नुपर्छ ।’
उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।