नेपालगन्ज उपमेयर कप रेटिङ्ग चेस प्रतियोगिता–२०२४ शनिबार सकिएको छ । प्रतियोगिताको उद्घाटनमा नेपालगन्जका उपमेयर कमरुद्दिन राईले क्रमिक रूपमा आगामी आर्थिक वर्षहरूमा पनि नेपालगन्ज उपमेयर कप रेटिङ्ग चेस प्रतियोगितालाई अविछिन्न तवरमा आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए ।
बाँके जिल्ला बुद्धिचाल संघले नेपालगन्ज उप–महानगरको आर्थिक सहयोगमा विद्यार्थीहरूका लागि सञ्चालित प्रतियोगिताका निर्देशक नेपाल बुद्धिचाल महासंघ सदस्य प्रतिमा महत क्षेत्रीका अनुसार, प्रतियोगितामा खुल्ला तर्फ कोहलपुरका अभिक साह प्रथम, नेपालगन्ज मोडेल एकेडेमीमा अध्ययनरत आयुष डेमरौरा र अनुपजंग शाह दोस्रो तथा तेस्रो भए । प्रतियोगितामा आदर्श स्कुलका क्रिसान्त घिमिरे चौथो, नेशनल इन्जिनियरिङ्ग कलेजका मदन वली पाँचौ जय वागेश्वरी स्कुलका गौरव पौडेल छैठौं र महेन्द्र वहुमुखी क्याम्पसका विष्णु गिरी सातौ हुन सफल भए ।
महिला तर्फ ईशा गिरी प्रथम, नेपालगन्ज मोडेल एकेडेमीकी श्रृष्टी शाह दोश्रो, भेरी विद्या मन्दिर राझाकी गरिमा श्रेष्ठ तेस्रो, नेपालगन्ज मोडेल एकेडेमीकै कृष्टल ज्ञवाली चौथो र जनता मा.वि. सन्तकुटिकी रितिशा घर्ति मगर पाँचौ हुन सफल भए ।
विभिन्न विधाहरू तर्फ गुराँस चाइल्ड हुड खजुराका रिजन थापा मगर एन प्याब्सन बाँके च्याम्पिएन र पञ्चमुखीका अभिषेक के.सी. एन प्याब्सन कोहलपुर फस्ट, सगरमाथा स्कुलका हिमाल नाथ योगी नेपालगन्ज प्रथम, स्प्रिङ्गडेलका राजीव खत्री दोस्रो र सेन्ट थोमस स्कुलका सुभाष शाह तेस्रो भए ।
जय वागेश्वरीका आरुष नाग र ज्योती पटहर प्याब्सन नेपालगन्ज छात्र र छात्रा तर्फ च्याम्पिएन भए । महेन्द्र बहुमुखी प्रथम तर्फ टेकराज कडेंल र दश वर्ष मुनिमा नेपालगन्ज मोडेल एकेडेमीकै प्रत्युषा योगी च्याम्पिएन भए । त्यसै गरि जन कल्याण मा.वि. का सविर रोका र महेन्द्र बहुमखीकी रक्षा घर्ति मगर खजुराको छात्र र छात्रा तर्फ प्रथम भएको पशुपति नाथ योगीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्न आयोजित कार्यक्रममा नेपालगन्ज–२० का वडा अध्यक्ष कौशल कुमार धोबीले यसै आर्थिक वर्ष भित्र २० नं. वडाले पनि विद्यार्थीहरूको चेस प्रतियोगिता आयोजना गर्ने जानकारी गराए । यसैगरी नेपालगन्ज ६ नं. वडाको वडाध्यक्ष समिर प्रताप सिंहले कजाकिस्तानमा हुने २५ औं एसियन युथ एण्ड क्याडेट प्रतियोगितामा सिलेक्टेड हुने नेपालगन्जका खेलाडीहरूलाई आर्थिक सहयोग समेत गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षक पशुपति नाथ योगीले प्रतिस्पर्धी तथा अन्य विद्यार्थीहरूलाई वैशाख ७ गते चेसको प्रशिक्षण समेत दिएको बाँके चेसका सचिव मदन वलीले जानकारी दिए ।