१. लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । प्रदेश सरकारमा दु्ई मन्त्री दिने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै पार्टीको निर्देशन बमोजिम मन्त्री अहिले राजिनामा दिएका हुन् ।
२. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरेको जानकारी दिए ।
३. गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको हो ।
४. डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च भएपछि खुसीसँगै चुनौती थपिएको छ । हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो ।
५. सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
६. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
७. मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिए पनि काम सकिएको छैन । कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले सरकारबाट छ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
८. कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७ सालमा रु ११ करोडको लागतमा निर्माणको ठेक्का सम्झौता भएको सो योजना बजेट अभावका कारण अलपत्र परेको हो ।