नौ महिनामा १२ करोडको भन्सार छलीको सामान बरामद

सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बाट १ लाख ३३ हजार मूल्य बराबरको लत्ताकपडा बिना भन्सार भित्र्याएको फेला पारेको जानकारी दिंदै बरामद गरेर नेपालगन्ज भन्सार कार्यालय बाँके पठाएको जानकारी दियो । प्रहरीले पछिल्ला दिन दैनिक जसो बिना भन्सार भित्रिएका मालसामान, कुखुरा, चल्ला बरामद गर्दै आएको छ । प्रहरी मात्रै होइन सशस्त्र प्रहरीले पनि दैनिक जसो भन्सार छलीको सामान बरामद गर्दै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी चालु आ.व.को नौ महिनामा मात्रै भन्सार छलेर ल्याएको १२ करोड बढीको मालसामान बरामद गरेको तथ्यांक उनीहरूको रहेको छ । सशस्त्र प्रहरीले चालु आ.व.को चैत्र २७ गतेसम्म १० करोड १० लाख रूपैयाँ बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता नारायण डाँगीले चालु आ.व.को नौ महिनामा २ करोड २९ हजार २१ रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जानकारी दिए ।

नेपालगन्जको मुख्य नाकामा ठाउँठाउँमा चेकिङ्ग रहेको छ । त्यसबाहेक भित्री नाकाहरूका विभिन्न ठाउँमा पनि निगरानीका लागि सुरक्षाकर्मीहरू खटिएका हुन्छन् । तर, पनि तस्करी भने रोकिएको पाइँदैन । तस्करी भएर नाकाबाट भित्रिसकेका मालसामान सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेका हुन् ।

त्यसैले पनि नेपालगन्जका व्यवसायीहरू नाकामा निगरानी बढाउन माग गर्नुका साथै तस्करी रोक्नका लागि भन्सार दर घटाउन माग गर्दै आएका छन् । ‘भन्सार दर कम हुने हो भने भन्सार गराउने बढ्छन्, तस्करी हुँदैन’, व्यवसायी भन्छन्, ‘त्यसबाहेक भित्री नाकाहरूमा समेत छोटी भन्सार सञ्चालनमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाउनु पर्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार, दैनिक १२ हजार ५ सय नेपालीहरू भारतको रूपैडिहा पुगेर औसत पाँच हजारको मालसामान खरिद गर्दछन् । यसबाट दैनिक ६ करोड २५ लाख रूपैयाँ बाहिरिने गरेको छ । रूपैडिया पुगेर सामान खरिद गर्ने अधिकांसले भन्सार राजश्व तिर्दैनन् । संघले दैनिक १ करोड राजश्व छली मुख्य नाकाबाटै बिना भन्सार भित्रिने सामानबाट हुने गरेको अनुमान गरेको छ ।

संघले चोरी पैठारी र राजश्व छली रोक्न जमुनाह नाकाको पूर्व र पश्चिममा ५÷५ किलोमिटर तारबार गर्न र लामो दुरीको सिसि क्यामेराबाट अनुगमन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

Exit mobile version