नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो अधिवेशन आइतबार सुरु भएको छ । अधिवेशनले सर्वसम्मत कार्यसमिति निर्वाचित गर्ने प्रयास आइतबार सफल नभएपछि निर्वाचन प्रक्रियामा गएको छ । यद्यपि, एमाले बाँकेका नेताहरूले आइतबार विहानसम्म सहमतिमै नगरकमिटि सर्वसम्मत निर्वाचित हुने बताएका छन् ।
नेकपा एमाले नगर कमिटिको निर्वाचन हुने ८५ पदका लागि ९२ को उम्मेदवारी परेको छ ।
पदाधिकारी, खुला सदस्य लगायतमा आवश्यक भन्दा बढीको उम्मेदवारी परेको छ भने केही पदमा भने चाहिए जति उम्मेदवारी परेको छैन ।
निर्वाचन संयोजक अधिवक्ता विकास आचार्यले अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी कायम भएको आइतबार अबेर जानकारी दिए । नगर अध्यक्ष पदका लागि मोहित शाह र उषा कुमारी थापा (भण्डारी)को उम्मेदवारी अन्तिम नामावलीमा रहेको छ । त्यसअघि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका भाष्कर काफ्लेले भने उम्मेदवारी फिर्ता लिएका छन् । नगर कमिटिमा ३ सय ९९ जना मतदाता रहेका छन् ।
‘निर्वाचनका थप प्रक्रियाहरू सोमबार १० बजे सुरु हुनेछ’, निर्वाचन संयोजक अधिवक्ता आचार्यले भने ।
त्यसअघि एमाले नगर अध्यक्ष दत्त प्रसाद आचार्यको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन एमाले बाँके इन्चार्ज खेममान खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनमा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, सांसद सुर्य ढकाल, दिपा शर्मा, एमाले नेता पशुपति दयाल मिश्र लगायतको सहभागिता रहेको थियो ।