उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सम्पत्ति संरक्षणमा सरकारको प्राथमिकता रहेको प्रष्ट पार्दै अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता गर्न निर्देशन दिएका छन् । बिहीबार बाँकेका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिंदै गृहमन्त्री लामिछानेले भने, ‘जिल्लामा भएका सबै सार्वजनिक सम्पत्तिको सोधखोज गरी अतिक्रमण भएको भए फिर्ता लिनुस् ।’ त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको औंल्याउँदै गृहमन्त्री लामिछानेले राज्यको सम्पत्तिमाथि कुनै व्यक्ति वा समूहले दोहन गर्ने छुट सरकारले नदिने बताए ।
‘हामीलाई प्रष्ट निर्देशन छ, सार्वजनिक सम्पत्तिको अवस्था अध्ययन गरी राज्यको मातहतमा ल्याउनु’ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गृहमन्त्रीको निर्देशन बारे दैनिक नेपालगन्जसँग भने । प्रजिअ पोखरेलका अनुसार, सार्वजनिक सम्पत्ति कब्जा तथा दुरूपयोग बारे जिल्लामा परेका १३ वटा उजुरी मध्ये २ वटा छिनोफानो लगाइसकिएको छ । ‘बाँकी ११ वटाको जाँचबुझ समितिले प्रतिवेदन तयार गर्दैछ’, प्रजिअ पोखरेलले भने, ‘बाँके प्रशासनले यसबारे काम गरिरहेको छ ।’
यसअघि नै गृहमन्त्रालयले सार्वजनिक सम्पत्ति र सरकारीकरणका लागि नागरिकसँग समेत सहयोग आव्हान गरेको थियो ।