बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्गस्थित सडकको दुबै किनारमा शुक्रवार दिउसो देखिएको दृष्य । निकुन्जमा डढेलोका कारण वन, बुट्यान, थुप्रै वनस्पति र जीवजन्तु जोखिममा परेका छन् । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोपछि खरायो, सर्प र विभिन्न लोपोन्मुख चरा मृत भेटिएको सम्बद्धहरुले जनाएका छन् ।
बैशाखको पहिलो सातामात्रै बाँकेका २५ वटा सामुदायिक वनमा डढेलो लागेको र जीवजन्तु र चराहरू मरेको अवस्थामा फेला परेका थिए । शमशेरगञ्ज सब–डिभिजन कार्यालय बाँकेका वन अधिकृत सुशील सुवेदीका अनुसार, त्यतिबेला डढेलोबाट वनमा वर्षौंदेखि आश्रित जीवजन्तु मरे । हरिण र बँदेल जस्ता जनावर विस्थापित हुन पुगे ।
वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनु दण्डनीय छ । यस्तो कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यही वन ऐनको दफा ७९ मा कसुर हुन लागेको सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारलाई हुने जरिवानाको १० प्रतिशत पुरस्कार दिने व्यवस्था समेत छ । तर दण्ड र पुरस्कारको स्पष्ट व्यवस्था हुँदा पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
