नेपालगन्ज पश्चिम नेपालकै स्वास्थ्य हबका रूपमा रहेको उल्लेख गरिंदै आएको छ । पश्चिम नेपालका विभिन्न जिल्लामा उपचार निको नहुँदा उपचारका लागि आउने जिल्ला हो नेपालगन्ज । पछिल्लो समय यहाँ अस्पतालको उपचार गर्ने क्षमता बढाइएको मात्रै छैन अस्पतालहरू पनि थपिंदै गएका छन् । विभिन्न रोगका लागि उपचारको केन्द्र बनिरहेको नेपालगन्जमै गभर्वती तथा सुत्केरीको मृत्यु उच्च अन्य पालिकाको तुलनामा बढी रहेको पाइन्छ ।
विभिन्न जिल्लाबाट सिरियस अवस्थामा उपचारका लागि आउने मात्रै होइन सहज उपचार पहुँच रहेको नेपालगन्जकै गर्भवती, सुत्केरी आमाहरू मृत्यु चिन्ताजनक विषय रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बाँकेमै अझै पनि सुत्केरी घरमै गराउने संख्या पनि निकै रहेको जिल्ला जनस्वास्थ्यको तथ्यांकले देखाएको छ । ‘गर्भवतीहरूको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ भन्ने चेतना अझै फैलाउन आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन विष्णु श्रेष्ठ भन्छिन्, ‘सुरुको गर्भवस्था परीक्षण गराउनेहरूको संख्या धेरै भएपनि त्यसपछि क्रमशः ड्रपआउट हुँदै गएको पाइन्छ ।’
बाँकेमा चालु आर्थिक वर्षमा १२ जना सुत्केरी, गर्भवति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, जसमध्ये ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना आमाको चालु आ.व.मा मृत्यु भएको हो ।
‘नजिकै अस्पताल हुँदा समेत गर्भवति, सुत्केरी आमाको मृत्यु चिन्ताको विषय हो’, श्रेष्ठले परिवार योजना, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारिता सम्बन्धी नेपालगन्जमा भएको अन्तरक्रियामा तथ्यांक प्रस्तुत गर्दै भनिन्, ‘घरमै सुत्केरी हुँदा मृत्यु, अस्पताल आउँदै गर्दा र अन्य जिल्लाबाट रेफर भएर गम्भीर अवस्थामा अस्पताल पुगेका आमाहरूको मृत्यु भएको पाइन्छ ।’
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले आठ पटक सुत्केरीले चेकजाँच गराउनु पर्नेमा पहिलो र अन्तिम जाँचको तथ्यांकमा निकै फरक रहेको बताइन् । उनले भनिन्, ‘पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ ।’
लुम्बिीनीमा मातृ मृत्युदर उच्च
लुम्बिनीमा मातृ मृत्युदरको तथ्यांक बढ्दो देखिएको छ । पछिल्लो तथ्यांकमा लुम्बिनी प्रदेशमा मातृ मत्युदरको संख्या देशमै उच्च रहेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय कार्यालयका अनुसार, लुम्बिनी प्रदेशमा मातृ मृत्यु प्रतिलाख २ सय ७ जना रहेको छ । अध्ययन अनुसार नेपालमा मातृ मृत्यु अनुपात (प्रति लाख जिवित जन्ममा) १ सय ५१ रहेको छ । मातृ मृत्यु कम हुने प्रदेशमा बागमति प्रदेश रहेको छ । जसमा प्रतिलाख ९८ जना मातृ मृत्यु हुने गरेको छ ।
पत्रकारसँग अन्तरक्रिया
हेल्थ टुडे मिडियाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपाल परिवार नियोजन संघ बाँके र केयर नेपालसँगको सहकार्यमा बिहीबार भएको अन्तरक्रियामा हेल्थ टुडे मिडियाका सम्पादक पदमराज जोशीले सुरक्षित मातृत्व लगायत स्वास्थ्य पत्रकारिताका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीले उठाउनुपर्ने ईशु लगायत बारे प्रस्तुतीकरण गरेका थिए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँके सुरक्षित मातृत्व फोकल पर्सन विष्णु श्रेष्ठ, नेपाल परिवार नियोजन बाँकेका कार्यालय प्रमुख रश्मी श्रेष्ठ र केयर नेपाल (युएसएआईडी) एएचआर कार्यक्रमका संयोजक केशवनरसिंह राणाले मातृ तथा शिशु मृत्युदरको अवस्था, सुरक्षित मातृत्व, परिवार योजनाका क्षेत्रमा गरेको कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।