बाँकेमा लागुऔषधको समस्या घट्नुका साटो झन् झाँगिदै गएको छ । लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम देखि कारवाही र उपचारको विधि बाँकेमा अवलम्वन गरिएको छ । तर, त्यसले लागुऔषध नियन्त्रणमा खासै ठूलो परिवर्तन ल्याएको पाइँदैन ।
अहिले पनि सयौं जना भारतको सीमावर्ती भारतको रूपैडियाका मेडिकलमा लागुऔषध सेवन तथा खरिद गर्नका लागि पुगेका भेटिन्छ । भारतको रूपैडिहा बाँकेका मात्रै नभई नेपालका विभिन्न जिल्लाबाट लागुऔषध कारोबारी पुग्ने गर्दछन् । लागुऔषधको जालो फैलिदै गएकाले बेला प्रहरीको कारवाही पनि बढिरहेको छ, मुद्दा र पक्राउले निरन्तरता पाएको छ ।
भारत सँग सीमा जोडिएका कारण पनि बाँकेमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढी रहेको पाइन्छ । प्रहरीले खुला सीमाना नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौति रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाका बाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । जिल्लामा जिम्मेवारी सम्हाले लगत्तै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले वडा प्रहरीमा हुँदा रहेको लागुऔषधको समस्या अहिले पनि उस्तै रहेको पाएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चालु आ.व. २०८०÷०८१ को नौ महिनामा लागु औषधका १ सय ३० मुद्दा दर्ता भएको जानकारी दिएका छन् । उनले उक्त मुद्दामा २ सय ६ जनालाई पक्राउ गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व.को नौ महिनामा ५ सय ५३ ग्राम ९१६ मिलिग्राम ब्राउनसुगर, १३ किलो १२३ ग्राम चरेश, अफिम ९ किलो ३१३ ग्राम, गाँजा ५ किलो ३ सय ८ सय ८६ ग्राम, कोरेक्स ३ लिटर ३ सय मिलिलिटर, नाइट्रोजेपाम ४ सय ३ बरामद भएको छ ।
भारतीय बजारमा खुलेआम विक्ने र खुला सीमाना भएकाले पनि लागुऔषध नियन्त्रण निकै चुनौतिपूर्ण बनेको लागुऔषध विरुद्धका अभियन्ताहरू बताउँछन् । ‘पुनस्र्थापना केन्द्रमा सुधार भएर घर फर्किएका पुनः कुलतमा फँसेको पाइन्छ’, उनीहरू भन्छन्, ‘उपचार गरेर ठिक भएका बेरोजगार हुँदा पनि पुनः त्यही कुलतको दलदलमा फँस्ने गरेको पाइन्छ ।’
भारत तर्फ समेत लागुऔषध कारोबार निरुत्साहन गर्न कानुनी कारवाही अगाडि नबढ्दासम्म नेपालको प्रयासले मात्रै लागुऔषधको सेवन र कारोबार नियन्त्रणमा नआउने प्रहरी अधिकारीहरू नै बताउँछन् । नेपाल–भारत दुई देशका सीमा स्थित प्रशासन र प्रहरीका अधिकारीहरूको बैठकमा समेत लागुऔषधको विषयले प्राथमिकता पाउने गरेको छ । लागुऔषध नियन्त्रणका लागि समन्वय गर्ने भनिएपनि भारतीय क्षेत्रमा लागुऔषधको बिक्री रोकिएको छैन ।
नेपालगन्ज नाका हुँदै लागु औषध अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम भित्रिने गरेको छ । औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयत्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रूपमा रहेको प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी अधिकारीहरू लागुऔषधले अन्य अपराध पनि बढाउने गरेको बताउँछन् । चोरी, घरेलु हिंसा, झैझगडा जस्ता घटनाको कारक समेत लागुऔषध समेत हुने गरेको प्रहरी बताउँछ । ’लागुऔषधले अन्य अपराध पनि बढाएको पाइन्छ, लागुऔषध प्रयोगकर्ताबाट अन्य अपराधहरू पनि भएका थुप्रै मुद्दा हुन्छन्, खासगरी चोरीका घटनामा लागुऔषध दुव्र्यसनीहरू संलग्न रहेको पाइने गर्दछ’, प्रहरी अधिकारी भन्छन् ।