१. राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा बुधबार नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्दै उनले साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।
२. बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्य लयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको बुधबार उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडक सञ्जाल निर्माणमा जोडदिनुपर्ने बताए ।
४. बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो ।
५. नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भूटान र भारतबाहेकका नागरिकलाई आवागमनमा रोक लगाउँदा यस क्षेत्रको पर्यटनमा प्रत्यक्ष असर परेको छ । कोराना महामारी फैलिएछि काँकडभिट्टालगायत देशभरिका नाका बन्द गरिएका थिए । कोरोना महामारीपछि सहज परिस्थिति बन्दा भारतसँगका अन्य नाकाबाट आवागमन सामान्य भए पनि काँकडभिट्टा नाकाबाट आउने पर्यटकको आगमन प्रायः ठप्प छ ।
६. आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो ।
७. जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन् । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे ।
८. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्दै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।