१. कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
२. म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्किनीस्थित कालीगण्डकी किनारमा रहेको आर्यघाट सङ्कटमा परेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका कारण तिल्किनीको उपल्लो आर्यघाट अतिक्रमण हुँदा साँघुरो हुनुका साथै फोहर व्यवस्थापन मुख्य समस्या बन्दै गएको हो ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहिन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
४. बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
५. अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जेठ १ देखि ३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’ आयोजना गर्ने अध्यक्ष समिक बडालले जानकारी दिए ।
६. अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् । सेजनले बिहीबार यहाँ आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रुपान्तरणकारी नीति अवलम्बन गर्ने बताएका हुन् ।
७. आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव परेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।
८. उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो ।