१. नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शनिबार शुभारम्भ गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे ।
२. संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
३. प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०÷८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका डा दुर्गाप्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष आठ हजार १७ जना छन् ।
४. कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गरेका छन् । रावतले एक घण्टा ११ मिनेट २५ सेकेन्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्ड २१ किलोमिटर दूरी पार गरेका हुन् ।
५. विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ । परिषदको चौथो राष्ट्रिय भेलाको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गराएको हो ।
६. लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले जल्गिनी–अर्खलेबेँसी सडक स्तरोन्नति सङ्घर्ष समितिलाई वार्ताको माध्यमबाट समस्याको निकाय खोज्नुपर्ने बताउँदै त्यसनिम्ति वार्तामा बस्न आह्वान गरेको छ । उक्त कम्पनीले अपिल जारी गर्दै सङ्घर्षका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन समितिलाई आग्रह गरेको छ ।
७. मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् ।
८. र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले धरान उपमहानगरपालिका–१६ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।