आप्रवासी कामदारलाई गरिने सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित अप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुसंग गरेको ‘सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि’ एक दिने अन्तरक्रिया कार्यक्रममा सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने, लाञ्छना लगाउने, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइएको हो ।
सामीका बाँके जिल्ला संयोजक कमलसिंह नेपालीले अप्रवासी कामदारले सामाजिक बहिष्करणको सामना गर्नपरिरहेको भन्दै स्थानीय जनप्रतिनिधि प्रभाव न्यूनीकरणका लागि संवदेनशील बन्नुपर्ने बताउनुभयो । नेपालीले बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा प्रभावबारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालीले सामाजिक लागत तथा लाञ्छना न्यूनीकरण गर्न के गर्ने तथा महिला र पुरुष कामदारहरुको योगदानको कदर कसरी गर्ने भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।
नेपालगञ्जका २३ वटै वडाका अध्यक्ष, प्रतिनिधि एवम् कार्यपालिका सदस्यहरुको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर मात्र जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइसकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धि मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनेबारे पनि गरिएको सामाजिक परिचालन अधिकृत घनश्याम वलीले जानकारी दिनुभयो । बैदेशिक रोजगारीबाट फर्केकाहरुको सामाजिक पुनःस्थापना पनि चुनौतिपूर्ण रहेको तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा पनि त्रुटी रहेको औंल्याइएको छ ।
बैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक लागतमा परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, सामाजिक लाञ्छना, पारिवारिक बेमेल, विखण्डन र मानसिक तनाव तथा समस्या लगायत छन् । विशेषगरी बैदेशिक रोजगारीमा जाने र फर्केका महिला कामदारहरु विभिन्न हिंसा, शोषणमा पर्ने, बैदेशिक रोजगारीमा रहेका कामदारका श्रीमतीहरुले विप्रेषणको दुरुपयोग गरेको, फजुल खर्च गरेको, पुरपुरुषसंग सम्बन्धमा रहेका आरोप लाग्ने गरेको तथा महिला कामदारका श्रीमानहरुले श्रीमतीलाई विदेश पठाई श्रीमतीको कमाई खाएको भनी होच्याउने जस्ता नकारात्मक सोच बदल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
सामीले वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।
सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।