नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन लम्बिएको छ । शनिबार सम्पन्न हुने गरी शुक्रबार सुरु भएको अधिवेशन नेतृत्व चयन प्रक्रियाका कारण लम्बिएको हो ।
शनिबार दिउँसो हुने भनिएको निर्वाचन प्रक्रियाको थालनी सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विलम्व हुँदा अबेर साँझ सुरु भएको थियो । निर्वाचन तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अगाडि नबढेर सहमतिको अन्तिम प्रयासमा अध्यक्ष मण्डल जुटेका कारण अधिवेशन आइतबारसम्म पुगेको छ ।
‘सकेसम्म सर्वसम्मत नै जाने पार्टी नीति हो’, अध्यक्ष मण्डलका सदस्य नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले दैनिक नेपालगन्जसँग भने, ‘सहमति जुटाउनै नसके मतदानमा जाने प्रक्रिया त खुला छँदैछ ।’
शनिबार अपरान्ह सुरु भएको निर्वाचन प्रक्रियाका क्रममा अबेर राती उम्मेदवारको प्रारम्भिक नामावली टाँस गरिएको छ । दाबी विरोध र उम्मेदवारी फिर्ता लगायतका लागि आइतबार नौ बजेसम्मको समय दिइएकाले त्यसपछि मात्रै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
‘आइतबार एघार बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएको छ’, निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले दैनिक नेपालगन्जसँग भने ।
आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी र पूर्व अध्यक्ष निरक गुरुङ्गले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेपछि उनीहरू मध्ये सकेसम्म एक जना सम्भव नभए दुई जना बनाउने कोसिसमा अध्यक्ष मण्डल लागेको देखिन्छ ।
उपाध्यक्षमा इन्द्र बहादुर थापा, रत्न बहादुर खत्री, रविन्द्र लम्साल र सुमन कुमार मल्लले उम्मेदवारी दिएका छन् ।
सचिवमा खिल प्रसाद भुषाल, दत्त प्रसाद आचार्य, बलराम भट्टराई र भीम ओलीको उम्मेदवारी परेको छ ।
त्यस्तै उपसचिवमा महिला तर्फ निर्मला सुनार, रचना श्रेष्ठ र शारदा कुमारी रेग्मी विश्वकर्मा तथा खुला तर्फ दिपक कुमार बर्मा, किशोर थापा, सतिश निरौला र सोहनलाल यादवले उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुनिता शर्माले जानकारी
दिइन् । ‘उनीहरू मध्ये फिर्ता लिने समयभित्र सहमति जुट्न सक्यो भने सकेसम्म सर्वसम्मत पहल भैरहेको’ एमाले नेतृत्व बताउँछ ।
त्यसैगरी एमाले बाँकेको लेखा संयोजकमा जगदीश चन्द्र शर्मा र शोभाखर अधिकारीको उम्मेदवारी परेको छ । उपाध्यक्ष, सदस्य र सचिव, सदस्य खुल्ला भने आवश्यकता अनुसार एकएक जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य बस्नेतले जानकारी दिए ।
लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, सचिव विश्वसेन गौतम र खुल्ला सदस्यमा मोतिप्रसाद भुषाल चुनिएका हुन् । लेखा सदस्य महिलातर्फ पनि आवश्यक तीन जनाकै उम्मेदवारी परेको छ । चन्द्रकला न्यौपाने, जमुना केसी र नन्दा घिमिरे लेखा सदस्य चुनिएका छन् ।
कतिपय भुगोल, आदिबासी, जनजाति, मधेसी, युवा, पुरुष महिला, खुल्ला पुरुष, खुल्ला महिला लगायतमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको छ ।