बाँकेको खजुरामा आज बुधबारदेखि ‘खजुरा शिवकालिका धार्मिक महाअनुष्ठान’ आयोजना गर्न लागिएको छ । खजुरा बजारमा रहेको शिवकालिका मन्दिर परिसरमा नेपालमै पहिलो धार्मिक बाटिका निर्माणका लागि महाअनुष्ठान आयोजना गर्न लागिएको हो
आयोजक शिव कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेश भट्टले धार्मिक वातावरणको आन्तरिक पर्यटकीय गन्तव्य ‘धार्मिक वाटिका’ निर्माणका लागि फागुन २८ गतेसम्म महाअनुष्ठान गर्न लागिएको जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महाअनुष्ठान मूल आयोजक समितिका संयोेजक समेत रहेका आयोजक भट्टले खजुरा क्षेत्रकै ऐतिहासिक मन्दिर शिवकालिका परिसरमा पर्याप्त जग्गा रहेकाले त्यसको अधिकतम उपयोग गरी मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजिएको बताए ।
महाअनुष्ठान आयोजक मूल समितिका संयोजक भक्तबहादुर केसीले महाअनुुष्ठानबाट एक करोड संकलन लक्ष्य राखिएको जानकारी दिंदै त्यसबाट खजुरा क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यमा महत्वपूर्ण स्थान हासिल हुने विश्वास व्यक्त गरे । ‘यो खजुरा क्षेत्रको सामूहिक अभियान हो’, सचिवालय संयोजक पत्रकारहरूसँग भने । उनका अनुसार, एक विगाह जग्गामा प्रस्ताव गरिएको धार्मिक बाटिका बनस्पति र जैविक बोट, विरुवासँगै फुलहरूको अनुपम संगम बन्ने लक्ष्य राखिएको छ ।
महाअनुष्ठानका संकल्पकर्ता श्री इश्वर शरण महाराजजीले धार्मिक महोत्सवका रूपमा महाअनुष्ठानलाई आयोजना गर्न लागिएको जानकारी दिए । ‘यो एउटा हिन्दु धर्म जागरण अभियान पनि हो’, देशभर अहिलेसम्म ३ सय ८२ स्थानमा आफुले यसरी धार्मिक महायज्ञको संकल्प तथा आयोजन गरेको जानकारी दिंदै शरण महाराजजीले भने, ‘आध्यात्मिक जागरणका लागि यसको विशेष महत्व छ ।’
मूल आयोजक समितिका प्रचार संयोजक सुमन सिंह बस्नेतका अनुसार, प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म पुजा अर्चना हुने महाअनुष्ठानमा सुश्री सुप्रिया किशोरीले कथावाचन गर्नेछिन् । ‘विराट धनधान्य महापर्वसँगै पितृ मुक्तिको पूजासँग राष्ट्रिय कलाकारबाट संगीतममय भजन कीर्तन, ग्रह शान्ति, लाख बत्ती, महालक्ष्मीको पुजा, विवाह, उपनयन संस्कार पनि गरिनेछन्’, प्रचार संयोजक बस्नेतले दैनिक नेपालगन्जसँग भने ।
श्री शिव कालिका मन्दिरको ६ विगाह जग्गा मध्ये एक विगाह मध्ये एक विगाहमा धार्मिक बाटिका बनाउन खोजिएको हो । यसअघि नै मन्दिरसँग जोडिएको जग्गामा ज्ञानोदय क्याम्पस सञ्चालनमा रहेको छ भने मन्दिरकै स्वामित्वमा रहेको जग्गामा खजुराका खेलाडीहरूले खेल अभ्यास गर्दै आएका छन् ।
‘बाटिका परिसरमै ज्येष्ठ नागरिकहरूका लागि विश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जल विचरण स्थल, फुलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुनेछन्’, मन्दिर अध्यक्ष भट्टले भने ।