उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
नेपालगन्जस्थित ज्ञानमैत्री कलेजले शनिवार बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको विदाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थीहरूको भावी यात्राको सफलताको कामना गर्दै विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा पूर्वविद्यार्थीलाई सम्मान गरिएको हो ।कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा मात्रै नहेर्न आग्रह गरे । उनीहरूले नैतिकता, अनुशासन, क्षमता विकास र देशप्रतिको जिम्मेवारीलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।विद्यार्थीहरुलाई सम्बोधन गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा. लालमणि आचार्यले अहिलेको समय प्रविधिमैत्री बनेसँगै सिकाइको स्वरूप पनि बदलिएको बताए । शिक्षकहरू समेत विद्यार्थीबाट सिक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले शिक्षा व्यवहारिक, नैतिक र जिम्मेवार बनाउने खालको हुनुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षाले केवल योग्य व्यक्ति होइन, जिम्मेवार र नैतिक नागरिक तयार गर्नुपर्छ ।’विदेश गएर ज्ञान र सीप हासिल गरे पनि अन्ततः आफ्नै देशको विकासमा योगदान दिनुपर्ने उनको भनाइ थियो । सकारात्मक सोच र अनुशासनलाई जीवनको आधार बनाउन उनले विद्यार्थीहरूलाई आग्रह गरे । ज्ञानमैत्री कलेजका प्रमुख सतानन्द लम्सालले कलेजको १३ वर्षे यात्रामा थुप्रै संघर्ष र उपलब्धि रहेको स्मरण गरे । विसं २०७० सालदेखि सञ्चालनमा आएको कलेजले निरन्तर गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उनले बताए ।आफ्ना विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘पैसाको पछि होइन, आफ्नो क्षमता र गुणस्तर यति बलियो बनाऔँ कि सफलता आफैं पछ्याओस् ।’ जहाँ पुगे पनि आफ्नो क्षमता विकाससँगै देशप्रतिको दायित्व नबिर्सन उनले विद्यार्थीहरूलाई सुझाव दिए ।मध्यपश्चिम बहुमुखी क्याम्पस सुर्खेतका प्राध्यापक मधुसुदन अधिकारीले ज्ञानमैत्री कलेजले अनुशासन र शिक्षालाई प्राथमिकतामा राखेर गुणस्तरीय जनशक्ति उत्पादन गरिरहेको बताए । कलेजले विद्यार्थीमा सकारात्मक संस्कार विकास गर्न समेत भूमिका खेलेको उनको भनाइ थियो ।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । थारु नृत्य, झुम्रा नृत्य तथा अन्य सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीका रूपमा निशा रावत सम्मानित भएकी छन् । त्यसैगरी कलेजका पूर्वविद्यार्थी तथा हाल चितवन जिल्ला अदालत भरतपुरमा खरिदार पदमा कार्यरत प्रशान्त कुमार श्रीवास्तवलाई पनि विशेष सम्मान गरिएको थियो ।कलेजले विभिन्न विधामा शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै विदाई कार्यक्रमलाई केवल बिछोडको क्षण नभई नयाँ यात्राको सुरुआतका रूपमा प्रस्तुत गरेको जनाएको छ । सहभागीहरूले पनि विद्यार्थी जीवनपछि सुरु हुने व्यावसायिक र सामाजिक यात्रामा सफलताको शुभकामना दिएका थिए ।
