बाँकेको वैजनाथ गाउँपालिका–१ च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ ।
केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । “यसको विकास र प्रवद्र्धनका लागि मापदण्ड र कार्यविधि बनाइरहेका छौँ र यो अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो ।
सो गाँउलाई पर्यटकीय गन्त्यका रुपमा विकास गर्न नमूना थारु गाउँ व्यवस्थापन समिति गठन भएको जानकारी दिँदै अध्यक्ष शाहीले तत्कालका लागि रु एक लाख अनुदान उपलब्ध गराइएको बताउनुभयो । उहाँले व्यवस्थापन समितिको मागअनुसार लगानी बढाइने उल्लेख गर्दै थारु समुदायको सशक्तीकरण र उनीहरुलाई स्वरोजगार बनाउन पर्यटन प्रवद्र्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष शाहीले भन्नुभयो, “थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य च्यामा गाउँमा राखिएको छ ।” सो गाउँमा २००५ सालदेखि करिब १०० घर परिवार थारु समुदाय बस्दै आएका छन् ।
उहाँका अनुसार थारु समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटनलाई प्रर्वद्धन गर्न र त्यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा, वेशभूषा, संस्कार तथा परम्परागत जीवनशैलीको संरक्षणमा नमूना गाउँ मोडेलका रुपमा स्थापित हुने अध्यक्ष शाहीको भनाइ छ ।
नमूना थारु गाउँ घोषणाले ठूलो सहयोग पुगेको उल्लेख गर्दै नमूना थारु गाउँ घोषणा समितिका अध्यक्ष मेघराज थारुले गाउँको पहिचासँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
गाउँमा थारु समुदायको परम्परागत घर, खानपान, नृत्य, कला र सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा संरक्षण गरिने उहाँको भनाइ छ । अध्यक्ष थारुले भन्नुभयो, “गाउँलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय रुपमा रोजगारी सिर्जना र घरेलु उत्पादनको प्रवद्र्धन हुनेछ ।”
जिल्लाको वैजानाथ गाउँपालिकामा रहेको बोटानिकल पार्क पनि अर्को पर्यटकीय गन्तव्य हो । त्यहाँ पर्यटन विकासका लागि तत्कालीन लुम्बिनी प्रदेश सरकारले लगानी गरे पनि अपेक्षा गरेअनुसारको प्रतिफल आउन सकेको छैन । यसबाहेक गाभर भ्यालीलाई पनि वैजनाथको पर्यटकीय गन्तव्यका रुपमा लिन सकिने स्थानीय बताउँछन् ।






























