विभिन्न मागहरू राख्दै विगत २२ दिनदेखि आमरण अनसनमा रहेकी महिला अधिकारकर्मी रुबी खानको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको भन्दै स्थानीय मानव अधिकार रक्षकहरूले चिन्ता व्यक्त गरेका छन्।
नेपालगन्जस्थित सञ्जीवनी अस्पतालको बेड नम्बर १४ मा उपचाररत खानको पछिल्लो अवस्था बुझ्न जेठ ४ गते मानव अधिकार रक्षकहरूको टोली अस्पताल पुगेको थियो। सो क्रममा उपचारमा संलग्न चिकित्सक र महिला अधिकार मञ्चका पदाधिकारीहरूसँग भेटघाट गरी टोलीले खानको वर्तमान स्वास्थ्य अवस्था र उनले उठाएका मागका बारेमा विस्तृत जानकारी लिएको हो।
लामो समयदेखिको अनसनका कारण उनको शरीरमा जटिलता उत्पन्न हुन सक्ने र हाल उनलाई ‘सलाइन वाटर’ दिएर राखिएको जानकारी चिकित्सकहरूले दिएका छन्।
खानको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अधिकारकर्मीको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख र राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुखसँग समेत भेटघाट गरी वस्तुस्थिति बारे जानकारी गराएको छ।
नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकार र स्वास्थ्यको अधिकारलाई सम्मान गर्दै खानले उठाएका विषयहरूमा कानुनसम्मत ढंगबाट तुरुन्त समाधान खोज्न टोलीले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।
अधिकारकर्मीहरूले मानव अधिकारको संरक्षण र न्यायको खोजीसँगै जीवन र स्वास्थ्यको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै राज्यलाई संवादमार्फत निकास निकाल्न आग्रह गरेका छन्।
साथै, अनसनरत खानलाई समेत आफ्नो स्वास्थ्य र जीवनको संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै मानव अधिकारका मूल्य, मान्यता र सिद्धान्त अनुरूप आन्दोलनका वैकल्पिक तथा संवादमुखी उपायहरू अपनाउन हार्दिक अनुरोध गरिएको छ। यसरी गम्भीर बन्दै गएको परिस्थितिप्रति संवेदनशील बन्न आग्रह गर्दै सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक एवं वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबिन कुमार गिरि, इन्सेक लुम्बिनी प्रदेशका प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतम र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन्।































