लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आयोजनाको तयारीलाई तिब्रता

महिला खेलाडी विकास योजना

महिला फुटबल विकासका लागि कोषेढुंगा हुनेसक्ने अपेक्षा गरिएको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीलाई तिब्रता दिइएको छ । नेपालगन्जमा आयोजना हुने प्रतियोगिताका बारेमा शुक्रवार पत्रकारलाई जानकारी दिन आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिता तयारी तिब्र पारिएको बताए ।

बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा अन्तरालले आयोजन ागर्न लागेको लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा हुने निश्चित भएको हो ।

‘यसले बाँकेमा महिला फुटबललाई पुनःजीवन दिने अपेक्षा हामीले गरेका छौं,’ त्यसैको सेरोफेरोमा २३ वर्षपछि महिला फुटबल समितिलाई ब्यूझाइएकोसमेत जानकारी दिंदै बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, ‘महिला खेलाडी उत्पादन र विकास दृष्टिले यो प्रतियोगिता कोषेढुंगा हुनसक्ने अपेक्षा गरेका छौं ।’ उनले देशमै महिला फुटबल गोल्डकप नभइरहँदा नेपालगन्जबाट त्यसको शुरुवात सम्भव रहेको औल्याए ।

एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागी गराउने गरि आवश्यक तयारी थालिएको पनि बताए । ‘त्यसैलाई लक्षित गरेर सबै स्थानीयतहमा छनोट, प्रशिक्षणलगायतका कार्यक्रम गरिनेछ,’ नेपालगन्जमा महिला फुटबल मेयरकप गर्न लागिएको जानकारी दिंदै शाहीले भने, ‘बाँके जिल्ला फुटबल संघले योजनाबद्ध कार्यक्रम तय गरेर महिला फुटबल विकासका लागि काम गर्नेछ ।’

नेपालगन्ज रंगशालामा शुक्रवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजक, अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न तिब्ररुपमा तयारी थालिएको बताए । ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ’—कार्यकारी प्रमुख शाहले भने, ‘आयोजनालाई स्तरीय बनाउन कुनै कसर व्यवस्थापनका दृष्टिले राखिनेछैन ।’ उनले नेपाल र भारतका खेलाडीहरुको अभूतपूर्व जमघट अनि प्रतिष्पर्धा नेपालगन्जमा हुने भएकाले स्थानीय सरकारले अपनत्व लिएर आयोजनालाई सघाउन अपील गरे ।

लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता जनाउने बताइएको छ । ‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइने छ,’ अन्तरालका कार्यकारी प्रमुख शाहले भने ।

लुम्बिनी कप महिला फुटबलको सचिवालय नेपालगन्ज रंगशालामा स्थापना गरिएको छ । ‘हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौ’—प्रमुख कार्यकारी शाहले पत्रकारसँग भने । यति ठूलोस्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना गर्नु नै मुख्य चुनौति रहेको उनको भनाइ छ । ‘प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्छ,’ शाहले भने ।

पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी दिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पारेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायत सहभागी थिए ।

यसअघि प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटवल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।

Exit mobile version