सामुदायिक विद्यालयमा बिहानी कक्षा

नेपालगन्जमा गर्मी बढेपछि यहाँ रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेका छन् ।

नेपालगन्जका १२ विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखिओस् भनेर बिहानी कक्षा सुरु गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लाकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजारले केही दिन यतादेखि कोहलपुरमा पनि बिहानी कक्षा सञ्चालन भएको जानकारी दिँदै यहाँका अधिकांश सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेको बताउनुभयो । 

जल तथा मौसम विभाग, कोहलपुरका अनुसार नेपालगन्जमा यस वर्ष ४१.५ डिग्रीसम्म तापक्रम बढेको छ । बढ्दो गर्मी र तातो हावा (लु) का कारण यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण सडकमा सर्वसाधारणको हिँड्डुल कम हुन थालेको छ ।  

चिकित्सकहरूले  गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन् । 

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा उमेश ढुङ्गानाले शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोलिलो पदार्थ सेवन गर्न सुझाव दिनुभएको छ । गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पतालले इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’ मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिनुभयो । 
Exit mobile version