केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ…गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो । नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दसँैका बेला न हो वर्षदिनमा नयाँ लुगा हाल्न पाइने । ‘स्कुल ड्रेस’ नै भए पनि नयाँ नाना लगाउन पाउँदाको खुसी सम्झिँदा पनि मनै फुरुङ्ग हुन्छ । दसैँ आउन लाग्दैगर्दा बुबा कपडा लिन पसल जाँदा पछिपछि गइन्थ्यो । कपडाको ठूलो रुमालमा पोको पारेर कपडा घर भित्र्याएपछि दसँै भित्रिएझैँ लाग्थ्यो । झन् लुगा सिलाउने दाइँ मेसिन बोकेर घरमै आएर सिलाउन थालेपछि स्कुलसमेत जान मन नलाग्ने । नयाँ नानाको गन्धले दसैँ निम्त्याउँथ्यो । स–सना कुरामा ठूल्ठूलो खुसी मिल्थ्यो उस बेला । स्कुल लिपपोत गरेर चिटिक्क बनाएपछि दसैँको बिदा हुन्थ्यो । सरहरूसँग लाइन लागेर कमेरो माटो लिन औलतर्फ गइन्थ्यो । डल्ला बनाएर हातैमा बोकेर कमेरो र रातो माटो ल्याइन्थ्यो । समूहमा मिलेर काम गर्दाको आनन्द अर्कै । कुचोले कमेरो र रातो माटो स्कुल पोत्न सुरु गरेपछि लाथ्थ्यो यी त खुसीका रङ्ग पो रहेछन् । घरघरबाट ल्याएका ब्याट्री फुटाएर स्कुलका झ्याल ढोकामा कालो लगाएर चिटिक्क भएपछि लाग्थ्यो अब दसैँ आयो । घर लिपपोत गर्दा त झन् खुसी फक्रने । कमेरो र रातो माटोको सुगन्ध केवल सुगन्ध मात्र थिएन, त्यो चाडपर्व आगमनको सङ्केत पनि थियो । यसअघि नै गाउँका प्रत्येक घरबाट सहभागी भएर मूलबाटो फाँडफुँड र सरसफाइ गरेर दसैँलाई स्वागत गथ्र्यौं । घरमा बाँधेको खसीले ‘म्या’ गर्दा बुबाले दसैँ करायो हैभन्दै जिस्केको पल सम्झिदा पनि मनमा आनन्द आउँछ । रातिदेखि नै ढिकी ‘भक्य्राङ ढयाँङ’ गरेर चिउराको सुगन्ध, बुबाले एकघरी केरा किनेर ल्याई तलाको डोरीमा झुन्ड्याएपछिको उमङ्ग बेग्लै । टाढाटाढा काममा वा परदेश गएका लाहुरे दाइहरु क्यासेट घन्काउँदै घर फर्कन थालेपछि छाउँथ्यो दसैँको रौनक । हाटबजारमा भीड बढ्थ्यो, वर्षौंपछि भेटघाट भएकाहरूको भलाकुसारीपछि पो खुसी फक्रिन्थ्यो । नौ दिनसम्म दसँै घरमा हुने पूजापाठले ल्याउने खुसी र शान्तिको त कुरै नगरौँ । रेडियोमा घन्कने मालश्री धूनले मन प्रफुल्लित बनाउने । विजयादशमी टीकाको दिन घरमा बुबाआमाको हातबाट टीका र आशीर्वाद लिएर मान्यजनसँग टीका थाप्ने । आमैघरमा टीका लगाइसकेपछि आँगनभरि जम्मा भएर स्टिल क्यामराले एक दुई स्न्यापफोटो खिचेपछि मामाघर जाने हतारो । दक्षिणामा प्राप्त हुने नयाँ नोट गन्नुको आनन्द अर्कै । बाल्यकालका ती स्मृतिहरूले उस बेलाको दसैँलाई ताजा बनाउँछ । अहिलको दसैँ त के दसैँ । बढ्दो उमेर या आधुनिकताको प्रभाव भनौँ दसैँ त उहिलेकै राम्रो । अहिलेको त के दसँै । बसाइँसराइले त्यो बेला उल्लासमय हुने घरहरू अहिले खालीखाली छन् । युवा जति वैदेशिक रोजगारमा गएका कारण गाउँमा पिङ हाल्ने मान्छे पनि भेटिँदैनन् । अहिले त गाउँमा रहेका वृद्ध बुबाआमालाई पनि सहरमै बोलाएर दसैँ मनाउन थालिएको छ । पहिला दसैँ मनाउन सहर गाउँमा जान्थ्यो, अहिले गाउँ सहर आउन थालेझैँ लाग्छ । कतिपयले त यही बेला बुबाआमालाई विदेशमै बोलाउन थालेका छन् । दसैँको मुखैमा आएको बाढीपहिरोले धेरैको दसैँ निराश बनाएको छ । गाउँ फर्कन नपाएर सहरमै दसैँ मनाउनेहरूको सङ्ख्या निकै देखिन्छ । सामाजिक र सामूहिकताको भावना विस्तारै स्खलित हुँदै गएको आभाष हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मै बरु मोबाइलमा व्यस्त देखिन्छन् । पहिले घरका भित्ताहरू रङ्गिएछि दसैँ आएजस्तो हुने, अहिले त सामाजिक सञ्जालका भित्ताहरू दसैँको शुभकामनाले रङ्गिएपछि दसैँ आएजस्तो हुने । समय कति बदलियो है ! अहिलेका बालबालिकाले त नजिका आफन्तसमेत चिन्न छाडिसके । चाडबाडले भेला हुने, घुलमिल हुने, आत्मीयता आदानप्रदान गर्ने अवसर प्रदान गर्छ तर त्यो क्रम विस्तार कम हुँदै गएको महसुस हुन्छ । यस्तो अवस्थामा हामीले चाडबाडको मर्म र आनन्दलाई नयाँ पुस्तामा जस्ताको तस्तै प्रवाह गर्न सक्नुपर्छ ताकि उनीहरूले यसको अर्थ र महत्वलाई बुझ्न तथा अनुसरण गर्न सकून् ! दसैँलाई देखासिखी गरेर दशा नबनाऔँ । घाँटी हेरी हाड निलौँ । दसैँका बेला धेरै चिल्लो पिरो र मदिरा सेवन गरेर स्वास्थ्यलाई प्रतिकूल असर पार्ने काम नगरौँ । हाम्रा रितिथिति, चाडपर्वका मौलिकता संरक्षणमा सबै गम्भीर बनौँ ।
…अनि पो दसैँ आउँथ्यो
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना
by
Dainik Nepalgunj
May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
by
Dainik Nepalgunj
May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
by
Dainik Nepalgunj
May 15, 2026
दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
by
Dainik Nepalgunj
May 15, 2026
भारतमा पेट्रोल–डिजेल महँगियो
by
Dainik Nepalgunj
May 15, 2026