बाँकेको खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि. मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार शुक्रबार राति करिब १:३० बजे इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले कोठा नम्बर १०५ मा हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाखालबाट नगद रु. १ लाख २८ हजार ३१०, खोलेको तास २ गड्डी तथा नखोलेको तास ३ गड्डी बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा बाँकेका प्रमोद केसी, एकराम हुसेन, दीपक कडेल, अब्दुल मियाँ, सफिक खाँ, नबी हुसेन, जमालु दिन, साकिर अली बागवान तथा बर्दियाका दुर्गा बोहरा, छबिलाल गिरी, सुजन पुरी, नबिन शाही र प्रेम गिरी रहेका छन्।
