नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुराना बस्ती लक्षित सडक तथा नाला निर्माणका काम तीव्र रूपमा अगाडि बढाइएको छ । वडाध्यक्ष दीपक कुमार बर्माको योजनामा वडा कार्यालयले एकै साता करिब ६० लाख रूपैयाँ लागतका दुई वटा पूर्वाधार योजना सुरु गरेपछि स्थानीय बासिन्दामा उत्साह बढेको हो ।
त्यसक्रममा वडाध्यक्ष वर्माले शनिबारमात्रै सुर्खेत रोडस्थित एसके पम्प पछाडिको बस्ती तथा हाल यातायात कार्यालय रहेको क्षेत्रको पूर्वतर्फ पर्ने टोलमा सडक तथा नाला निर्माण योजनाको शिलान्यास गरेका छन् । उक्त क्षेत्रमा ३५ लाख रूपैयाँको लागतमा ३०० मिटर आरसिसी नाला स्तरोन्नति निर्माण हुने जनाइएको छ ।
‘वर्षौंदेखि स्थानीय विवादका कारण रोकिएको उक्त योजना अहिले भने निर्माण चरणमा पुगेको छ,’ यसअघि पटक–पटक बजेट विनियोजन भए पनि स्थानीयबीचको विवाद समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको जानकारी दिंदै वडा कार्यालयले भनेको छ, ‘वडाध्यक्ष वर्मा स्वयं वडा कार्यालयको टोलीसहित दुई–तीन दिनसम्म खटिएर स्थानीयबीच सहमति गराएपछि निर्माण प्रक्रिया सुरु भएको हो ।’
स्थानीयले लामो समयदेखि रोकिएको योजना कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार सडक र नाला नहुँदा वर्षायाममा हिलो तथा डुबानको समस्या भोग्नुपरेको थियो । ‘अहिले निर्माण सुरु भएपछि पुरानो बस्तीको स्वरूप फेरिने अपेक्षा गरिएको छ,’ शिलान्यासमा सहभागी स्थानीयले खुशी व्यक्त गर्दै भने ।
यसैबीच, वडा नम्बर १८ कै नागरिक टोलमा पनि २५ लाख रूपैयाँ लागतमा ४३५ मिटर पिसिसी सडक निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ ।
उक्त योजनाको पनि यसै साता वडाध्यक्ष वर्माले शिलान्यास गरेका हुन् । गत आर्थिक वर्षमा नागरिक टोल क्षेत्रमा आरसिसी नाला निर्माण सम्पन्न भएको थियो । त्यसपछि यस वर्ष सडक निर्माणका लागि बजेट व्यवस्थापन गरेर काम अघि बढाइएको जनाइएको छ । सडक निर्माणपछि आवतजावत सहज हुनुका साथै पुराना बस्तीमा पूर्वाधार विस्तारले गति लिने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष दीपक वर्माले पुराना बस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम भइरहेको बताए । उनले ‘वर्षौंदेखि रोकिएका योजनालाई सहमति र समन्वयमार्फत अघि बढाएका छौं, अब वडा नम्बर १८ का कुनै पनि बस्ती विकासबाट पछाडि पर्दैनन्’ भनेका छन् ।
वडाध्यक्ष बर्माले सडक, नाला तथा आधारभूत पूर्वाधार निर्माणलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । ‘वडा नम्बर १८ मा पछिल्लो समय विभिन्न टोलमा सडक स्तरोन्नति, नाला निर्माण तथा अन्य विकास निर्माणका काम धमाधम भइरहेका छन्,’ वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने ।
