नेपालगन्जको बि.पि. चौकस्थित गुरुद्वारामा एक दिने निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण, रगत परीक्षण, निःशुल्क औषधि वितरण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लाइफलाइन हस्पिटल प्रा.लि. र परिवर्तन समूहको संयुक्त आयोजनामा संचालित उक्त शिविरलाई डा. प्रतिक श्रेष्ठ, किरण श्रेष्ठ र सौरभ कर्माचार्यले नेतृत्व गरेका थिए ।
शिविरमा ३ सय ८० जनाले निःशुल्क स्वास्थ्य जाँचको सेवा लिएका थिए भने २ सय ७० जनाको निःशुल्क रगत परीक्षण गरिएको थियो । शिविरमा ८० जनाले आँखाको निःशुल्क परीक्षण गराएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रम बीच ४२ जना दाताहरूले रक्तदान गरेका थिए ।
शिविरका लागि नेपाल मेडिकल एशोसिएशन, बाँके, होलिस्टिक होम केयर, नेपाल रेडक्रस सोसाइटी, नेपाल मेडिकल सेल्स एण्ड रिप्रिजेन्टेटिभ एशोसिएशनले सहयोग गरेको थियो ।
शिविरको समापनपछि लाइफलाइन हस्पिटल, परिवर्तन समूह र गुरुद्वारा कमिटीका सदस्यहरूको संयुक्त व्यवस्थापनमा गुरुद्वारामा लङ्गर आयोजना गरिएको थियो । जहाँ चार सय बढी सर्वसाधारणले भोजन गरेका थिए ।
