नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन नेपालगन्जमा हुने भएको छ । संगठनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर यही २०८२ वैशाख २० र २१ गते नेपालगन्जमा महाधिवेशन निश्चित भएको जानकारी दिएको हो ।
संगठनका बाँके अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक तयारी समितिका संयोजक समेत रहेका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खाँले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने जानकारी दिए ।
‘पहिलो पटक नेपालगन्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन हुन लागेको हो’, कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल मुस्लिम इत्तेहाद संगठनका इन्चार्ज, नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन हलुवाईले भने, ‘यो बाँकेबासीका लागि अवसर पनि हो ।’ उनले महाधिवेशनले नेपालगन्जको सद्भावको सन्देश दिने पनि बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुर्य ढकालले त्यसक्रममा बाँकेका विभिन्न विकासका चासोको विषय पनि उठाइने बताए । उनले इत्तेहादको आयोजना सफल पार्न सबै बाँकेबासीसँग सहयोगका अग्रह पनि गरेको छन् ।
मो. सकिल कादरीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वक्ताहरुले महाधिवेशनका क्रममा मुस्लिम समुदायको हित र विकासका विषयमा पछि छलफल गरिने बताएका थिए ।
