नेपाल ह्याचरी उद्योग संघले सोमबारदेखि आगामी असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । बजारीकरणको समस्याले उक्त निर्णय संघले गरेको हो ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेल कुखुराको बजारीकरणको समस्या हुँदा किसान निरुत्साहित भएको बताउँछन् । ‘खुला सीमानामा
पोल्ट्रीजन्य कारोबारको समस्या छ, जसले गर्दा त्यस सम्बन्धी व्यवसाय गर्नेहरू निरुत्साहित छन्’, उनी भन्छन्, ‘बढ्दो उत्पादन, भारतबाट अवैध आयात हुँदा कुखुराको व्यवसाय निकै समस्या छ ।’ किसानहरू सस्तो मूल्यमा पनि चल्ला खरिद गर्न तयार नभएको उनी बताउँछन् ।
‘लागत मूल्य भन्दा कममा चल्ला बिक्री हुँदा पनि किसानले चल्ला किनिरहेका छैनन्, कुखुरा बिक्री गर्न समस्या हुँदा ।’
संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो ।
चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो । उनले भने, ‘व्यवसायीले चल्लाको उत्पादन मूल्य भन्दा कममा बेच्नुपर्ने र बिक्रीनै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ ।” अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन् ।
चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धारासाही भएका छन् । उत्पादित चल्ला रु १० देखि १५ मा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो । ब्रोइलर चल्लाको लागत मूल्य रु ६० पर्न आउँछ । हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ ।
बैंकको चर्काे ब्याज, दानाको मूल्य वृद्धि, अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको बताइन्छ । उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान संकटमा पर्दै गएको किसानहरूको धारणा छ ।
‘किसानले मेहनत गर्ने तर त्यसको प्रतिफल नपाउने अवस्था भएकाले किसान निरुत्साहित भएका हुन्’, कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष पोखरेल भन्छन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल कुखुरा पालिरहेकाहरू पनि अधिकांशको ठूलोमात्रामा बैंक ऋण रहेको बताउँछन् । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरूले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । अहिले कुखुरापालन क्षेत्रमा बैंकमा रहेको धितोले ऋण तिर्न नपुग्ने उनी बताउँछन् ।
तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ ।
नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष ऋषि पौडेल धेरै ह्याचरी बन्द भइसकेको बताउँछन् । बाँकी रहेका ह्याचरीले उत्पादन गरेका चल्ला बिक्री नभएपछि पुर्नुपर्ने अवस्था अहिलेको रहेको उनी बताउँछन् ।
लुम्बिनीमा बढ्दो छ, कुखुरा र अण्डा उत्पादन
लुम्बिनी प्रदेशमा कुखुरा र अण्डाको उत्पादन बढ्दै गएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा को चैत्र मसान्तसम्म २३ करोड ५९ लाख ८१ हजार वटा अण्डा उत्पादन भएको तथ्यांक कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको तथ्यांक रहेको छ ।
त्यसअघिको आ.व. २०८०÷०८१ मा २३ करोड ५७ लाख ४५ हजार अण्डा उत्पादन भएको अनुमान मन्त्रालयको रहेको छ ।
मन्त्रालयका अनुसार, आर्थिक बर्ष २०८१÷०८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा ७३ लाख ३१ हजार ८ सय १२ कुखुरा उत्पादन भएका छन् ।
आर्थिक बर्ष २०८०÷०८१ मा ६९ लाख १२ हजार ७१ सय १५, आ.व. २०७९÷०८० मा ६९ लाख १२ हजार ७ सय १५ कुखुरा लुम्बिनी प्रदेशमा उत्पादन भएका थिए ।































