मलाई पनि लाग्थ्यो–देश त सक्किएको पो हो कि ? यसपालि जेठदेखि भदौसम्म डुलेका केही जिल्लाका सकारात्मक पक्षका बारेमा र सुधार गर्न सकिने (मलाई लागेको) विषयमा चर्चा गर्नेछु । म पालिका र समुदायस्तरमा भएका विकास र मैले देखेको परिवर्तनबाट शुरु गर्नेछु ।
काठमाडौंबाहेक म डेढ दशकपछि देशका विभिन्न जिल्लाका पालिकाहरू पुग्ने, त्यहाँका समुदाय र जनप्रतिनिधिसँग छलफल गर्ने योजना बनाउँदै थिएँ । हुन त यो योजना बनाउनुअघि नै जेठमा मकवानपुर, रौतहट र चितवनलगायतका जिल्लाका पच्चीसभन्दा बढी पालिकाका जनप्रतिनिधिसँग छलफल गर्ने मौका पाएको थिएँ । त्यो बेलाका मलाई रोचक लागेका तथ्यहरू पनि लेख्ने नै छु । त्यसअघि आज म डेढ दशकपछिको पूर्वी पहाडको यात्राको बारेमा यहाँहरू माझ राख्नेछु ।
चार महिनापछि म रात्री बस चढ्दै थिएँ । बेलुकी ८ः३० बजे ‘आउनुस्’ भन्ने फोन काउन्टरबाट आयो । मैले पहिलो पटक भनेकै समयमा आइपुग्यो बस । बसपार्क जाँदै गर्दा मलाई बसपार्क छाड्न निस्किएका उज्ज्वल भाइ र त्यही मेसोमा भेटिएका विष्णु दाहाल दाइसँगको रमाइलो भलाकुसारीलाई रोक्दै हतार–हतार म बस चढ्न पुगेँ । पार्कमा चिनेका दाइले ‘गज्जबको सिट छ’ भन्दै राखिदिएका रहेछन् । चढ्नेबित्तिकै हुइकिएको बसमा बसिसक्दा मनमा अलिकति खुल्दुली, अलिकति संशय थियो । घरमा सबैले मौसमको चिन्ता गरिरहेको बेला हिँडेको थिएँ । ‘मध्य वर्षामा कता हिँडेको?’ यस्ता प्रश्न परिवारका सदस्य, साथीभाइ र शुभेच्छुकले सोध्नु भएको थियो । मैले यसलाई आफ्नाप्रतिको माया हो भन्ने ठानेँ । एउटा लक्ष्य बोकेर हिँडेको थिएँ । कम्तिमा यात्राभर पानी परेन र बसले पनि समयमै बिहान ७ बजे धनकुटा बसपार्कमा झारिदियो । बस भने लाग्यो हिलेतिर ।

बसपार्कको बनावट र बजार देख्नेबित्तिकै आफ्नै गाउँ झर्याेजस्तो लाग्यो । खासै परिवर्तन देखिएन । उही चोकमा रहेका मोहन बिस्कुट, छुर्पी, सुकाएको माछा, अकबरे खुर्सानीका हराज र उही प्याकेटका खाजा । धनकुटा मेरो लागि नयाँ थिएन, तर म झन्डै १५ वर्षपछि पुग्दै थिएँ । मलाई हेर्दै ‘ओ दाजु धरान झर्ने हो? डायरेक्ट हो डायरेक्ट, म यही माथि हो’ भन्दै जिस्किँदै हिँडे । बसपार्कमा मलाई लिन आउँछु भन्नु भएकोले मित्र नयन विश्वकर्मालाई केही समय बजारका फोटो खिच्दै घरतिर धनकुटा पुगेको समाचार दिँदै प्रतिक्षा गरिरहेँ । नयनजी भेट भयो, छोटो भलाकुसारीपछि म होटलतर्फ लागेँ । होटल चाहिँ मित्र नगेन्द्र राईले खोजिदिनु भएको थियो ।
उस्तै धनकुटा
पन्ध्र वर्षपछि धनकुटा टेकेको भए पनि मलाई बसपार्कको उस्तै रूपले नयाँ खोज्ने खासै उत्साह जगाएको थिएन । निन्द्रा कचल्टिएकोले पनि होला । जब म होटल लागेँ, बाटोमा केही नयाँ भवन बनेको देखेँ, जुन नियमित विकासक्रम नै हो । ठूला केही भवनबाहेक दशकअघि समाचार पढेको सुन्तले गाउँ देख्दा अलिकति नयाँ लाग्यो (खासमा रमाइलो अनुभूति) । धनकुटा खासमा उस्तै भए पनि मलाई सधैं मनपर्ने शहर हो । यहाँको बजार, समुदाय, मानिसका व्यवहार, बोलीचाली, भाषा र सफा शहर यी सबै कारणले मलाई धनकुटा जहिल्यै आकर्षक लाग्छ ।
यसपालि धनकुटा नितान्त व्यक्तिगत व्यावसायिक भ्रमणका लागि भएकोले मैले मनमनै समुदायका मसिना विषय नजिकबाट अध्ययन गर्ने योजना पनि बनाएँ । यसपालिको भ्रमणमा धनकुटाको भ्याएसम्म सबै पालिका जाने योजनामा थिएँ । यी सबै योजनामा साथ दिइरहनु भएको थियो धनकुटाका पुराना पत्रकार (रेडियोकर्मी), सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्व, अनेक परिचय र समुदायलाई नजिकबाट चिनेका मित्र नयन विश्वकर्मा । नयनजीसँग ०६२÷०६३ सालदेखि नै नजिकको सम्बन्ध रहेको छ । उहाँ स्थानिय संस्थामा सामुदायिक सञ्चारकर्मीका रूपमा हामीसँग जोडिनु भएको थियो र म फरक संस्थामा थिएँ ।

२०६५ सालदेखि चार वर्षसम्म मेरो एउटा काम थियो—“सञ्चारले पनि विकासमा मद्दत गर्न सक्छ” भन्ने विषयमा अध्ययन गर्नु (रेडियो कार्यक्रमहरू साथीसँग मनका कुरा र नयाँ नेपाल) र समुदायमा विभिन्न गतिविधि गर्न÷गराउन सहयोग गर्नु । चार वर्ष निरन्तर अध्ययन अनुसन्धान गर्दा साबिकको घोर्लिखर्क गाउँको डिकुरे नपुग्ने त कुरै भएन ।
हिलेबजारबाट पाख्रीबास हुँदै लेगुवाघाट झर्दा पुगिन्छ डिकुरे गाउँ (हाल पाख्रीबास नगरपालिकामा पर्छ) । डिकुरे वरपर मिश्रित जातजातीको समुदाय रहेको छ । धनकुटामा मिश्रित समुदाय भए पनि आठपहरिया राईहरूको समुदाय धनकुटाबाट दक्षिण पाँच–छ किलोमिटर तलतिर रहेको छ । यो नेपालका लोपोन्मुख जातिमा सूचीबद्ध समुदाय थियो । यी दुईलाई मैले मुख्य अध्ययन गर्ने गाउँको रूपमा छनोट गरेको थिएँ । त्यसैले मलाई धनकुटाका यी गाउँहरूसँग अत्यन्त भावनात्मक सम्बन्ध छ ।
फेरिएको पाख्रीबासको डिकुरे गाउँ
पाख्रीबास नगरपालिका देशमै प्रमुख कृषि अध्ययन केन्द्र हो । त्यही पालिकाको डिकुरे गाउँमा दशकअघि पुग्दा धुलोले अनुहारै नचिनिने अवस्था थियो । डिकुरे झरेपछि पहिलो काम भनेको धुलो टकटकाउनु पथ्र्यो । गाउँका मानिस चिन्दथे, कोही पाका, कोही युवा, कोही बालबालिका मेरा साथी बनेका थिए । ती रेडियो सुन्ने र सुनाउने श्रोता समूह सदस्य थिए ।
श्रोता समूहले कार्यक्रम सुन्ने मात्र होइन, कार्यक्रमका विषयवस्तुमा आधारित सामूहिक क्रियाकलाप पनि गर्ने गर्थे । चार वर्षसम्म नियमित छलफल भइरहेको थियो । डिकुरे गाउँमा रहेको एउटा टाकुरोबाट अरूण नदी, तुम्लिंगटार विमानस्थल, भोजपुर बजारलगायत स्थान देखिन्छ । कहिले हुस्सुले गाउँ ढाक्छ, कहिले चरक्क घाम, त कहिले सिमसिम पानी ।
मैले त्यो डाडामा पिस पार्क बनाउन प्रस्ताव राख्दा श्रोता समूह र स्थानीयहरूले सहमति जनाए । संस्थाले पनि शान्ति स्थापनार्थ न्यून रकम सहयोग ग¥यो । स्थानीयले श्रमदान गरे । पछि सल्भ नेपाल र सरकारको केही सहयोगपछि स्वरूप फेरिँदै अहिले बुद्धमूर्ति सहितको पिस पार्क बनेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ ।
अम्बिकाजी र साथीहरूको निरन्तर सक्रियताले अहिले पनि योजनाहरू अगाडि बढिरहेका छन् । त्यही विषयमा फेरि छलफल गरी हामी शहीदभूमि पालिकातर्फ लाग्यौँ ।

कृषि उपजमा अब्बल छथर गाउँपालिका
छथर गाउँपालिकातर्फ जाँदै गर्दा बाटामा पानी प¥यो । बाहिर हुस्सु र सिमसिमे वर्षाले गर्दा परैबाट थुप्रिएका बोराहरू देखिए । नजिक पुग्दा थाहा भयो—बन्दा र काक्रोका बोराहरू तल तराई झार्न तयार पारिएका रहेछन् । मैले पालिका प्रमुख छत्र सुब्बालाई सोधेँ, “तपाईँको पालिकाको प्रमुख आम्दानी र कृषि उपज के हो?” उहाँले जवाफ दिनुभयो—“जोगवानी नाकाबाट भारत जाने तरकारीमध्ये ९० प्रतिशत हाम्रो पालिकाको हो । ६५–७० ठूला सवारीमा दैनिक तरकारी यही गाउँबाट जान्छ ।” कृषिमा अब्बल पालिकाहरूले कृषि आधुनिकीकरण भित्र्याउन अझ लगानी बढाउनुपर्ने देखिन्छ ।
गोलभेडामा आत्मनिर्भर शहीदभूमि
खोकु–छिन्ताङ काण्डले चर्चित शहीदभूमि गाउँपालिका गोलभेडामा आत्मनिर्भर भएको छ । पालिका प्रमुख मनोज राई (दोस्रो कार्यकाल) को नेतृत्वमा अहिले पाखैभरि गोलभेडा देख्न सकिन्छ । पालिका शिक्षा र स्वास्थ्यमा अझै अग्रणी बनाउन सकिन्छ कि भन्ने चिन्ता प्रमुखलाई छ ।

एभोकाडो नगर धनकुटा
धनकुटा जिल्ला प्रहरी कार्यालय परिसरअगाडि अवस्थित पार्क हेर्दा ठ्याक्कै एभोकाडो जस्तो देखिन्छ । यसले जनाउँछ—धनकुटा एभोकाडो उत्पादनका लागि चर्चित छ । त्यस्तै सुन्तलाका लागि पनि धनकुटा परिचित छ ।
कृषि उपज र फलफूल उत्पादनले सम्पन्न धनकुटा शिक्षा र स्वास्थ्यमा परिवर्तन खोजिरहेको छ । सडक सञ्जाल विस्तार भइसकेको छ । अधिकांश सडक कालोपत्रे भएका छन् । यसले कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।
चिन्तामा जनप्रतिनिधि
कतिपय प्रदेश नीति र कतिपय सर्वसाधारणको बुझाइका कारण धेरै जनप्रतिनिधि चिन्तित देखिए । पहिलो पाँच वर्ष आफ्नै लागि प्रशासनिक भवन बनाएर बिताएका जनप्रतिनिधि अहिले शैक्षिक गुणस्तर, स्वास्थ्य सुधार, युवा पलायन र दुव्र्यसन नियन्त्रणका विषयमा चिन्तित देखिन्छन् ।
धनकुटा घुम्दा धेरैजसो पालिका र वडाहरूमा युवा नेतृत्व भेटिए । उहाँहरूको गज्जबको उत्साह छ । अब तीन वर्षदेखि निर्वाचित भएका वडाअध्यक्षहरूले स्वमूल्यांकन गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा
यस यात्रामा मलाई सबैभन्दा रमाइलो लागेको कुरा—सुधारिएका यात्रुबहाक बस, समयपालन, चालक र सहचालकको सभ्य भाषा र व्यवहार । पछिल्ला वर्षमा सडक, पूर्वाधार, सार्वजनिक संस्था, अस्पताल र प्रशासनिक भवनहरू बनेका छन् वा बन्ने क्रममा छन् । आधुनिक कृषि प्रणाली सुरु भएको छ ।
धनकुटा बसाइमा मैले बुझेको कुरा—समुदायसँग नजिक रहेका, समस्यामा जुध्ने खरा मानिसहरूको प्रभाव राजनीतिक दलभन्दा परसम्म पुग्ने रहेछ । अबको निर्वाचनमा पनि निर्णायक शक्ति यिनै पात्रमै रहने देखिन्छ ।






























