साहित्यिक यात्राको पहिलो सम्मान पाउँदा लेखक श्रेयज सुवेदीको अनुहारमा एकदमै आत्मसन्तुष्ट मुस्कान झल्किएको थियो । सोमवार नेपालगन्जमा आयोजित एक भख्य कार्यक्रमबीच, उनीमा समर्पित थियो, ‘सनत रचना कथा सम्मान २०८१’को सम्मानपत्र, काँधमा दोसल्ला, साथमा नगद ११ हजार एक सय ११ – र मञ्चभर गुञ्जिएको ताली ।
मध्यपश्चिम स्रष्टा समाजले सुवेदीको कथा–संग्रह ‘बहुरुपी’ लाई उत्कृष्ट ठहर गर्दै शनिबार आयोजित विशेष समारोहमा यो सम्मान प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद घिमिरे, संस्थापक वरिष्ठ कथाकार सनत रेग्मी र अध्यक्ष वीरेन्द्र जैसीको हातबाट सुवेदीले जीवनको पहिलो साहित्यिक पुरस्कार ग्रहण गरे ।
सम्मान ग्रहण गरिरहँदा सुवेदीले साहित्यबाट केही नपाउने होइन, धेरै कुरा पाउन सकिने सन्देश प्रवाह गरे । सुवेदीले भने – ‘जीवनको पहिलो पुरस्कारले मलाई अपार ऊर्जा दिएको छ, यसले अझै लेखनमा निरन्तरता दिने प्रेरणा मिलेको छ ।’
आफ्नो ७९ औं जन्मोत्सव पारेर प्रदानित सम्मानकै अवसरमा वरिष्ठ कथाकार सनत रेग्मीले स्मरण गरे – ‘यो सम्मान मेरो र मेरी धर्मपत्नीको नाममा स्थापित हो, उत्कृष्ट कथासंग्रहलाई उजागर गर्ने उद्देश्यका साथ ।’ कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनोट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार रेग्मीले जानकारी दिए ।
कृति समीक्षामा डम्मर बिसीले ‘बहुरुपी’ का कथा भाषिक सौन्दर्य र विचारको गहिराइले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै सुवेदीमा अझ ठूला–ठूला कथा लेख्ने क्षमता छ भनी विश्वास व्यक्त गरे । तर, फिल्मी शैलीको छायाँ कम गर्दै जानुपर्ने सुझाव पनि उनले दिए । सम्मानित कथासंग्रहमाथि आफ्ना पाठकीय धारणा राख्दै बिसीले लेखको पहिलो कथासंग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको औल्याए ।
साहित्यिक व्यक्तित्वहरू – प्राज्ञ सभा सदस्य महानन्द ढकाल, शशीराम काकी, डा. हरि तिमिल्सेना र कल्पना पौडेल ‘जिज्ञाशु’ – ले पनि शुभकामना दिँदै सुवेदीलाई आगामी दिनमा अझ सशक्त लेखनको लागि शुभेच्छा दिए ।
‘बहुरुपी’ का १५ कथामा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाको प्रखर चित्रण गरिएको छ । यही कारण यो कृति मदन पुरस्कारको संक्षिप्त सूचीमा उत्कृष्ट सातमा र पद्मश्री साहित्य पुरस्कारको छनोटमा उत्कृष्ट पन्ध्रभित्र पर्न सफल भएको हो ।
मध्यपश्चिम स्रष्टा समाजले प्रतिवद्धता जनाएको छ –‘आगामी दिनमा अझ गुणस्तरीय साहित्य र सिर्जनालाई सम्मानमार्फत् उजागर गर्दै जानेछ ।’ समाजका अध्यक्ष जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका हुन् ।
