पम्प ट्र्याकमा जिल्ला स्तरीय प्रतियोगिता गर्न नेपालगन्जका साइक्लिस्टहरूको देउसी भैली गरेका हुन् ।
नेपालगन्जस्थित साइक्लिङ पम्प ट्र्याकमा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने उद्देश्यसहित बाँकेका साइक्लिस्टहरूले अनौठो शैलीमा देउसी–भैली कार्यक्रम सञ्चालन गरेका छन् ।
“साइक्लिस्टहरूको देउसी–भैली समूह २०८२ बाँके” नाम दिइएको समूहले यस वर्षको तिहारमा विभिन्न स्थानमा देउसी–भैली खेलेर साइक्लिङ अभियान र संस्कृतिको संरक्षण सँगसँगै खेल विकासका लागि सन्देश दिएको हो । जहाँ नेपालगन्ज साइक्लिंग क्लब र जिल्ला साइक्लिंग संघका पदाधिकारीहरु एकै मञ्चमा उभिएर देउसी भैलो गरे ।
समूहमा ७ वर्षदेखि ६५ वर्ष उमेर समूहका विद्यार्थी, शिक्षक, व्यवसायी, डाक्टर, नेपाल प्रहरीका पूर्व डीएसपी, र अन्य पेशामा आवद्ध झण्डै ३० जना साइकल यात्री सहभागी रहेका थिए । नेपालगन्ज, कोहलपुर, खजुरा लगायत स्थानका साइक्लिङप्रेमीहरूले देउसी–भैलीमार्फत साइक्लिङ अभियानको प्रचार गरेका हुन् ।
समूहले विशेषगरी साइक्लिङप्रेमी तथा अभियानमा सहकार्य गर्ने व्यक्तिहरूको घरमा देउसी–भैली खेलेको थियो । सहभागीहरूलाई स्थानीयहरूले उत्साहपूर्वक स्वागत सत्कार गरेका थिए ।
समूहका संयोजक कविराम बुढाथोकीका अनुसार, नेपालमै दोस्रो ठूलो साइक्लिङ पम्प ट्र्याक बनेको दुई वर्ष बितिसक्दा पनि कुनै प्रतियोगिता नभएकाले यसको प्रयोग र औचित्य घट्दै गएको थियो ।
“अब एक महिनाभित्र जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी छ,” उनले बताए, “यो प्रतियोगिता अन्तर्राष्ट्रिय साइक्लिङ महासङ्घ (ग्ऋक्ष्) का नियम अनुसार सञ्चालन गरिनेछ ।”
बुढाथोकीका अनुसार, प्रतियोगिताबाट स्थानीय युवामा साइक्लिङप्रतिको रुचि बढ्ने, पम्प ट्र्याकको उपयोगिता प्रमाणित हुने र बाँकेलाई साइक्लिङ गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।
