अवैध धन्दा विरुद्ध स्थानीय

नेपालगन्ज–१८ स्थित कारकाँदो चोकमा रहेको अवैध यौन अखाडा बन्द गराउन स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय गुहार लगाएका छन् । स्थानीय बासीहरूको एउटा समूहले प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसँग आइतबार भेटघाट गरी आफ्ना मागपत्र प्रस्तुत गरेका हुन् ।

मिलन कटेजका नाममा सञ्चालित अवैध यौन धन्धाको अखाडा बन्द गराउन यसअघि पनि पटकपटक प्रहरी प्रशासनमा अनुरोध गरिए पनि सुनवाई नभएपछि यसपटक वडाध्यक्षकै नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग त्यसबारे ध्यानाकर्षण गराउनु परेको स्थानीय अगुवा कविराज रेग्मीले बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भने, ‘यसको सुनुवाई होस् ।’

त्यस क्रममा प्रजिअ जोशीले अवैध धन्दा सञ्चालन गरिरहेको मिलन कटेज सञ्चालन हुन नदिने गरी निगरानी भइरहेको बताए । प्रजिअ जोशीले आफूले गैरकानुनी कार्य बन्द गर्न प्रहरीलाई प्रष्ट निर्देशन दिएको बताए । उनको भनाइ थियो, ‘कानुन विपरित भैरहेको यो कार्य बन्द गर्न प्रहरीलाई स्पष्ट निर्देशन छ, ढुक्क हुनुस् अब अपराधी उम्किन पाउँदैनन् ।’

स्थानीय बासीसँगै प्रजिअ समक्ष पुगेका वडाअध्यक्ष दीपक कुमार वर्माले अवैध कार्य रोक्न प्रहरी प्रशासनसँग निकै पहिलेदेखि ध्यानाकर्षण गराइए पनि सुनवाई नभएकाले स्थानीयवासी आक्रोशित भएको बताए । उनले यस कार्य रोक्न जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । वडाध्यक्ष बर्माका अनुसार, घरधनीले अवैध धन्दा सञ्चालन गर्ने व्यवसायीलाई भाडाबाट हटाउन चाहेपनि नसकिएको अवस्था पाइएको छ । ‘प्रहरी, प्रशासनले यसका लागि कडा कदम चाल्नुपर्छ’, उनले भने ।

त्यसक्रममा प्रजिअ जोशीसँगै कारकाँदोबासीका माग र मुद्दामा ऐक्यबद्धता जनाउँदै लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले कारकाँदोमात्रै नगरका विभिन्न भागमा भैरहेका अवैध यौनजन्य क्रियाकलाप रोक्न प्रहरी प्रशासनको ध्यान जानुपर्ने बताए ।

कारकाँदोबासीहरूको एउटा समूहले आइतबार नै वडाध्यक्ष बर्माको नेतृत्वमा नगर प्रमुख प्रशान्त विष्टलाई भेटगरी मिलन कटेज लगायत नगरमा भैरहेका अवैधधन्दा रोक्न ध्यानाकर्षण गराएका छन् । ‘समाजलाई हानी हुने गरी खुलेआम भैरहेका गम्भीर प्रकृतिको अपराध रोक्न पनि जनता नै जाग्नुपर्ने ?’, वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘प्रहरी, प्रशासनले के हेरिरहेको होला ?’

बर्षौदेखि अवैध यौन धन्दा सञ्चालन गरिरहेको आरोप लागेको मिलन कटेजमा गत साता प्रहरीले छापामारेर रंगेहात कतिपयलाई पक्राउ गरेपछि सञ्चालक फरार छन् । प्रहरीले उनीहरू विरुद्ध मानवबेचबिखन अपराध सम्बन्धी मुद्दा चलाएपछि फरार उनीहरूकै योजनामा दुई दिनअघि स्थानीयबासीमाथि सांघातिक आक्रमण भएको घटनाले यो रूप लिएको हो । ‘यो अवस्थालाई सधैका लागि अन्त्य गर्नुपर्छ’, स्थानीयबासी ऐन बहादुर हमालले भने ।

सांघातिक आक्रमणमा घाइते शेर बहादुर चन्द, ओम नारायण शाह र भरत चन्दले आक्रमणकारी विरुद्ध ज्यान मुद्दा दर्ता गर्ने बताएका छन् ।

Exit mobile version