कुनै बेला जीर्ण र बन्द अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा तीन बर्ष अघि नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि सुधार हुँदै आएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले साढे तीन बर्ष अघि बनेको तदर्थ कार्यसमिति र त्यसपछि निर्वाचित भएको कार्यसमितिले पुस्तकालयलाई पुनजिर्वित गरेको बताएका छन् ।
साढे तीन बर्ष अघि पुस्तकालयमा तदर्थ समिति गठन हुँदा वडा कार्यालयको कब्जामा पुस्तकालय रहेको थियो । आजीवन सदस्यको संख्या ५० जना रहेका थिए । तदर्थ समितिलाई नयाँ निर्वाचन गर्ने र पुस्तकालयलाई सक्रिय बनाउने जिम्मेवारी रहेको थियो ।
‘साढे तीन बर्ष अघि तदर्थ समिति गठन भएपछि वडाको कब्जाबाट पुस्तकालयलाई हटाएर पुस्तकालयलाई सक्रिय बनाउँदै नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी थियो’, अध्यक्ष बलराम यादव भन्छन्, ‘पाँच महिनासम्म तदर्थ समितिले काम गरेपछि २०७९ भदौं २८ मा भएको अधिवेशनले मेरो नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।’
‘नियमित निर्वाचन भदौंमै हुनुपर्ने हो, तर पर्वका कारण आगामी मंसिर ५ र ६ गतेका लागि अठारौं साधारणसभा तथा अधिवेशन तय गरेका छौं, त्यसका लागि तयारी अगाडि बढेको छ’, अध्यक्ष यादवले भने, ‘पहिलो दिन उद्घाटन र दोस्रो दिन नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।’
अध्यक्ष यादवले आफ्नो नेतृत्वमा आएको कार्यसमितिले पुस्तकालयमा पठन संस्कृति विकास गर्न धेरै प्रयास गरेको बताउँछन् । ‘अझै धेरै काम गर्न बाँकी छ’, उनले भने, ‘पुस्तकालयमा अहिले पुस्तकको संख्या एक लाख नाघि सकेको छ ।’ अध्यक्ष यादवले विभिन्न विद्यालयका कक्षा ११, १२ का विद्यार्थीलाई बोलाएर पुस्तकालयको महत्वबारे बुझाउने गरेको बताए । ‘अनौपचारिक रूपमा क्याम्पसका शिक्षक तथा विद्यार्थी पनि पुस्तकालय आउने गर्नुहुन्छ’, उनले भने ।
पुस्तकालयमा रहेका पुस्तकहरू त्यही बसेर पढ्न निःशुल्क रहेको छ । यद्यपि, कसैले पुस्तक घर लगेर पढ्न चाहेमा एक हजार रूपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो । ‘पुस्तकालयमा अध्ययनकर्ताहरू बढिरहेका छन्, १५÷२० विद्यार्थीहरू विभिन्न पुस्तक अध्ययनका लागि नियमित आउने गर्नुहुन्छ’, अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले बाल पुस्तकालय सञ्चालनका लागि केही पुस्तक किनिसकेको जानकारी दिएका छन् । ‘तर, सञ्चालनका लागि व्यवस्थापन गर्न सकेका छैनौं’, उनले भने ।
अध्यक्ष यादवले स्थानीय तथा प्रदेश सरकारले पूर्वाधारका लागि सहयोग गरेको बताए । ‘नियमित सञ्चालन खर्च धान्न निकै गाह्रो छ, कर्मचारी लगायत कार्यालय सञ्चालन खर्चका लागि आवश्यक सहयोग नपाउँदा सञ्चालन खर्च धान्न धौधौ छ’, उनले भने, ‘पुस्तकालय रहेको भवनबाट आउने सटर भाडाबाट विद्युत, कर्मचारी खर्च लगायत कार्यालय सञ्चालन खर्च धान्न सक्ने अवस्था छैन ।’
पुस्तकालयमा हाल सभा हल रहेको छ । त्यस्तै, तीन जना कर्मचारी नियुक्त गरिएको छ । जसमा एकाउन्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी रहेका छन् । ‘मेरो नेतृत्व पुस्तकालयमा आएपछि नयाँ प्रकाशन भएका पुस्तक राख्यौं, नयाँ हल बनायौं, इलाइब्रेरी सञ्चालनमा ल्यायौं, ३ वटा कम्प्युटर, प्रिन्टर र स्क्रानिङ्ग मेसिन खरिद गर्यौं, सिसिक्यामेरा जडान गरेका छौं’, अध्यक्ष यादवले भने, ‘पुस्तकालय सौन्र्दयीकरणको काम पनि गरेका छौं ।’
