वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ प्रदान

नेपाली सङ्गीत क्षेत्रका अग्रज एवं लोकप्रिय गायक कमल बी.के. ‘निर्मोही’लाई यस वर्षको कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२ प्रदान गरिएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गरिएको हो।

५१ हजार रुपैयाँ राशी, सम्मानपत्र र शालसहितको सो पुरस्कार वरिष्ठ गायक निर्मोहीको नाममा उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए।
गायक निर्मोही स्वास्थ्य समस्याका कारण कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसकेपछि समितिका संयोजक शाहले उनको तर्फबाट पुरस्कार ग्रहण गरेका हुन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पुरस्कारका संस्थापक तथा ख्यातिप्राप्त गायक कन्हैया सिंह परियारअञ्जना गुरुङ, सङ्गीतकर्मी, कलाकार र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।
उनीहरूले गायक निर्मोहीको दशकौँ लामो योगदान र नेपाली आधुनिक सङ्गीतमा पुर्‍याएको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दै उनलाई ‘जीवन्त सङ्गीत सम्पदा’को रूपमा व्याख्या गरे।

संयोजक शाहले कार्यक्रममा बोल्दै भने,

“निर्मोहीजीको योगदान अमूल्य छ। उनको स्वरले नेपाली गीतलाई आत्मीयता र जीवन्तता दिएको छ। उहाँको स्वास्थ्य लाभका लागि हामी सबैको शुभकामना छ।”

पुरस्कारको औपचारिक हस्तान्तरण भने केही दिनमै निर्मोहीको निवास नेपालगञ्जमा विशेष कार्यक्रममार्फत गरिने तयारी गरिएको छ।
संस्थापक गायकद्वय परियार र गुरुङले पनि नेपालगञ्ज पुगेर औपचारिक रूपमा पुरस्कार हस्तान्तरण गर्ने जानकारी दिएका छन्।

कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार नेपाली सङ्गीत क्षेत्रको एक प्रतिष्ठित मानिन्छ, जसले देशभरका अग्रज कलाकारहरूको योगदानलाई सम्मानित गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने लक्ष्य राखेको छ।

Exit mobile version