जिल्ला प्रहरी कार्यालय बाँकेले ११ वटा मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ ।
चार वटा मुद्दामा फरार रहेका विनय भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, विभिन्न मितिमा विभिन्न मुद्दा रहेका
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का विनय भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भण्डारी माथि २०८२ बैशाख १३ गते ज्यान मार्ने उद्देश्य राखी लाठी र धारिलो हतियार प्रहार गर्दै गम्भिर घाइते बनाएको घटनामा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता थियो । उनी सहित सहितको समूह उक्त कार्यमा संलग्न रहेकोमा सोही बेला पक्राउ परेका अन्यलाई कानुन बमोजिम कारवाही भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरी प्रवक्ता पातलीले बताएका छन् ।
भण्डारी माथि प्रहरीमा थप तीन वटा अपराधी मुद्दा रहेको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, २०७३ फागुन २४ गते सवारी ज्यान, २०७८ माघ १८ गते डाँका चोरी, २०७९ पुस १८ गते ज्यान मार्ने उद्योगको मुद्दा भण्डारी माथि रहेको छ ।
अदालत र प्रहरीमा सात मुद्दा रहेका विष्ट पनि समातिए
त्यस्तै, प्रहरीले सात वटा मुद्दा रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का समिर भन्ने सरोज बिक्रम विष्टलाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ चैत्र १५ गते उनी सहितको तीन जनाको समूहले धारिलो हतियार प्रहार गरी मानिस घाइते बनाएको घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता रहेकामा नेपालगन्ज उपमहानगपालिका वडा नं. १२ बाट विष्टलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, विष्ट विरुद्ध इलाका प्रहरी कार्यालय
कोहलपुरमा २०७६ असार ६ गते ज्यान मार्ने उद्योग, सोही बर्ष माघ २ गते सार्वजनिक सम्पत्ति तोडफोड मुद्दा, जिप्रका बाँकेमा २०७७ साउन २ गते, माघ ७ गते, २०८० चैत्र २० गते, २०८१ असार २८ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता रहेको छ ।

