‘पठन संस्कृतिलाई बढाउन सत्प्रयास गर्ने हाम्रो साझा प्रतिबद्धता हो’
दैनिक नेपालगन्ज
महेन्द्र पुस्तकालयको नयाँ कार्यसमितिले बुधवार पदभार ग्रहण गरेको छ । बलराम यादवको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
गत शुक्रवार भएको पुस्तकालयको १८ औँ अधिवेशनबाट यादव पुनः अध्यक्ष चयन भएका हुन् । निर्वाचन समितिका प्रमुख, अधिवक्ता बसन्त गौतमको अध्यक्षतमा भएको पदभार ग्रहण कार्यक्रमपछि बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको नवि निर्वाचित सचिव सतिश निरौलाले जानकारी दिए ।
पदभार ग्रहण गर्ने नवनिर्वाचित कार्यसमितिमा पंकज श्रेष्ठ उपाध्यक्ष, सतिश निरौला सचिव, अजयकुमार टण्डन कोषाध्यक्ष छन् । पदाधिकारी सबै निर्विरोध निर्वाचित भएका हुन् । सहसचिवमा ललिता उपाध्याय मतदानबाट निर्वाचित भइन् ।
महिला सदस्यमा पुष्पा सुवेदी र चन्द्रावति अधिकारी निर्विरोध निर्वाचित भए भने, श्यामविहारी गुप्ता, विष्णुप्रसाद सुवेदी, मो. आरिफ अन्सारी, सुनिल भण्डारी निर्वाचित भएका थिए ।
पुनः अध्यक्ष निर्वाचित भएपछि यादवले अब पुस्तकालयलाई इ पुस्तकालयमा स्तरोन्नति गर्ने, बाल पुस्तकालय कक्ष व्यवस्थापन गर्ने र पाठकमैत्री वातावरण निर्माण गर्ने मुख्य योजना रहेको बताएका छन् । सचिव निरौलाका अनुसार, पहिलो बैठकमा अध्यक्ष यादवले पुस्तकालयलाई गतिशील र पाठकमैत्री बनाउने योजना राखेका छन् । ‘पठन संस्कृतिलाई बढाउन सत्प्रयास गर्ने हाम्रो साझा प्रतिबद्धता हो,’ अध्यक्ष यादवलाई उद्धृत गर्दै सचिव निरौलाले भने ।
