नेपालगन्जमा शेयर साक्षरता
नेपाली शेयर बजारका लगानीकर्ताका लागि सुरक्षित वातावरण बनाउन नसकेको भन्दै नियामक निकाय, नेपाल धितोपत्र बोर्डको नेपालगन्जमा आलोचना गरिएको छ ।
नेपालको शेयर बजार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमन गर्छ । तर, त्यो नियामक निकायनै लगानीकर्ताका हितमा काम गर्न नसकेको गुनासो लगानीकर्ताको हो । ‘आइपीओ जारी गर्दासम्म नाफामा चलेको कम्पनी त्यसपछि एकाएक घाटामा जाँदासम्मको अवस्थालाई कसले हेरिदिने ?,’ आइपीओसम्मका लागिमात्रै नाफा देखाइने गरेको सम्भावनाप्रति आक्रोश व्यक्त गर्द लगानीकर्ताले बोर्डका अधिकारीसमक्ष भने, ‘लकिङ पीरियड खुलेपछि सतप्रतिशत शेयर बेचेर बाहिरिने प्रमोटरलाई जिम्मेवार बनाइनु पर्दैन ?
बजार सम्बन्धी कानून तर्जुमा तथा कार्यान्वयन गर्ने, धितोपत्र दर्ता तथा निष्काशनका लागि अनुमति प्रदान गर्ने, बजार सम्बद्ध संस्थाहरू (स्टक एक्सचेन्ज, ब्रोकर, मर्चेन्ट बैंकर आदि) लाई लाइसेन्स प्रदान गर्ने, सुपरीवेक्षण गर्ने, दण्ड–सजाय गर्ने लगायत काम सेबोनले गर्छ ।
सेबोनले मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ र ब्रोकर कम्पनी, इम्पेरियल सेक्युरिटिज प्रालिसँगको सहकार्यमा आयोजना गरेको शेयर साक्षरता कार्यक्रममा सहभागी लगानीकर्ताहरुले आफ्नो लगानी जोखिम कम गर्न नियामक निकायको भूमिका प्रभावकारी भइदिए हुने अपेक्षा व्यक्त गरे ।
पुँजी बजारमा लामो अनूभव हासिल गरेका शेयर बजारका लगानीकर्ता झविन्द्र प्रसाद मरासिनीले कतिपय बलिया कम्पनीले पनि लाभांस समयमा नदिएर ठगी गरेको आरोप लगाउँदै धितोपत्र बोर्डले प्रभावकारी काम गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।
पँुजी बजारका विषयमा अफवाह फैलाउनेलाई कारवाही गर्न नसकेको उल्लेख गर्दै धितोपत्र बोर्डलाई खरो रुपमा प्रस्तुत हुन आग्रह गरेका मरासिनीले भने, ‘तपाईहरुले लगानीकर्तामा विश्वास बढाउने काम गर्नै सक्नु भएको छैन, त्यतातिर लाग्नुस् ।’
अर्का लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको उल्लेख गर्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाए । ‘तपाईहरु आफै आन्दोलन गरेर बस्नुहुन्छ, लगानीकर्ताको चिन्ता कसले गर्ने ?’, शेयर बजारका विश्लेषकसमेत रहेका भट्टराईले भने, ‘इमान्दार नियमन विना बजारको गति स्थायी र भरपर्दाे हुँदैन ।’
विश्व लगानीकर्ता सप्ताह अन्र्तगत ‘पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले नेपालगन्जमा लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिए । उनले पुँजी बजार प्राथमिक बजारसँगै दोस्रो बजार समेत भएको औल्याउदै धितोपत्र बोर्डले लगानीकर्ताका हितको पक्षमा पैरवी गरिरहेको दावी गरे ।
‘सबै लगानीकर्ताको उद्देश्य पुँजी बजारको दोस्रो बजारबाट अधिक मुनाफा गर्ने हुन्छ त्यसका लागि धैर्यता र संयमता अपनाउनुपर्छ,’ निर्देशक पौडेलले लगानीकर्तामाझ भने ।
निर्देशक पौडेलले पुँजी बजारमा लगानीसँगै जोखिम पनि जोडिएर आउने उल्लेख गर्दै लगानीपछि आउने प्रतिफलको ग्यारेन्टी धितोपत्र बोर्डले गर्न नसक्ने बताए । उनको भनाइए थियो, ‘पुँजीबजारको ऐन, नियम अनुसार नियमन पनि भइरहेको छ ।’
नेपालगन्ज उद्योग बाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा भएको कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदयराज अधिकारीले लगानीकर्ताको सचेतना आवश्यकता औल्याए । उनले तीन वटा ब्रोकर कार्यालय रहेको नेपालगन्जमा करिव २० हजार लगानीकर्ताले कारोवार गरिरहेको जानकारी पनि दिए ।
सङ्घका महासचिव भीम रानाभाटले सहजीकरण गरेको कार्यक्रममा लगानीकर्ता जीवनारायण बेल्वासे पुँजी बजारलाई व्यवस्थित बनाउन सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिए ।
लगानीकर्ता सप्ताह अन्र्तगत बोर्डले बाँके र बर्दियामा शेयर साक्षरताको कार्य्रकम गरेको जनाएको छ । इम्पेरियल सेक्युरिटिजका नेपालगन्ज प्रमुख अधिकारीका अनुसार, आज बुधबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि कायर्क्रम आयोजना गरिएको छ ।
