कारबाही बढ्यो, दुर्घटना उस्तै

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको कार्तिक १ गतेदेखि हालसम्म सवारी नियम उल्लङ्घनविरुद्ध कडाई गर्दै हजारौँ सवारी साधनलाई कारबाही गरेको छ । यस अवधिमा ३ हजार ९ सय ६६ वटा सवारी साधन कारबाहीमा पर्दा ३३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । तर, कडाइका बाबजुद जिल्लामा दुर्घटनाको जोखिम भने अपेक्षित रूपमा घट्न सकेको देखिँदैन ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, सोही अवधिमा जिल्लाभर २२० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १९ जना गम्भीर र ३३९ जना सामान्य घाइते भएका छन् । मृतकमा ८ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । तथ्यांकले कारबाही बढे पनि मानवीय क्षति रोक्न अझै चुनौती रहेको संकेत गर्छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको दाबी गर्दै आएको छ । कार्यालयका अनुसार, विभिन्न स्थानमा ३४५ पटक सचेतना कार्यक्रम सञ्चालन गरिँदा ३६ हजार ४५५ जना लाभान्वित भएका छन् । यद्यपि, सडकमा हुने व्यवहारिक परिवर्तन र दुर्घटनामा कमी नआउँदा यस्ता कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

यस अवधिमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै विभिन्न सुधारात्मक काम गरिएको जनाइएको छ । आफैंले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरिएका ५८ वटा ईभी गाडी कारबाहीमा परेका छन् भने १७ वटा ईभी गाडी यातायात व्यवस्था कार्यालय नेपालगञ्ज पठाइएको छ । चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ४६ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । त्यसैगरी ६४ वटा सार्वजनिक यात्रुबहाक सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ भने अस्पष्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनमा पुनः नम्बर लेख्न लगाइएको छ ।

सार्वजनिक सवारीमा देखिने जोखिमपूर्ण अभ्यास नियन्त्रण गर्ने क्रममा आफैंले सिट थप गरी सञ्चालन गरिएका ३०० वटा सवारी साधनका ४६७ वटा सिट तथा मुडा हटाइएको छ । मानिस झुन्ड्याउन प्रयोग हुने गरी बनाइएका ६४ वटा म्याजिक भ्यानका फलामे डण्डी काटिएको छ भने ओभरलोड बोकेका १३ वटा सवारी साधन नियन्त्रणमा लिएर पल्टी गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, यति धेरै कारबाही, राजस्व संकलन र व्यवस्थापन सुधारका प्रयासका बाबजुद पनि दुर्घटना र मानवीय क्षति रोक्न नसकिएको भन्दै सरोकारवालाले ट्राफिक प्रहरीको प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

ट्राफिक प्रहरी सुधारमुखी र दुर्घटना रोकथाममा केन्द्रित हुनुपर्ने कि राजस्व संकलनमै बढी सक्रिय भएको हो भन्ने बहस सुरु भएको छ । विज्ञहरूका अनुसार, नियम उल्लङ्घनपछि कारबाही गर्नु मात्र पर्याप्त होइन, जोखिमपूर्ण स्थानको पहिचान, सडक पूर्वाधार सुधार, निरन्तर निगरानी र व्यवहार परिवर्तनमुखी अभियानमा जोड दिन सके मात्र दुर्घटना न्यूनीकरण सम्भव हुन्छ ।

Exit mobile version