नेपालगन्ज उपमहानगरपालिकाले नगरमा रहेको २३ वटै वडाको बजेट कटौती गर्ने भएको छ । गत भाद्र २४ गते उपमहानगरपालिकामा भएको आगजनी र तोडफोडका कारण भएको क्षतिको मर्मत, सम्भारका लागि बजेट नहुँदा वडाको बजेट उपमहानगरपालिकाले कटौती गर्न लागेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी पुस ५ गते शनिबार १८औं नगरसभा गर्दैछ । नगरसभामा बजेट कटौतीको प्रस्ताव पेश गर्ने उपमहानगरपालिकाको गत मंसिर २४ गते भएको कार्यपालिका बैठकले गरेको हो । नगर अधिवेशनमा चालु आर्थिक वर्षका विभिन्न योजना, नीति तथा कार्यक्रमहरूबारे छलफल हुने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा भएको आगजनी, लुटपाट र विध्वंशकारी क्रियाकलापका कारण उप–महानगरपालिकाको केन्द्र तथा वडा नं. ७ र ९ मा रहेको भौतिक संरचना, अभिलेख तथा कागजातसहित स्वास्थ्य सामग्री, औषधि, विपदजन्य सामग्री र सवारी साधनहरू जलेर नष्ट÷क्षतिग्रस्त भएको उल्लेख गरेको छ । ‘उक्त क्षतिबाट ठूलो धनजन क्षति भएको भन्दै पुनर्निर्माण तथा खरिदका लागि आवश्यक बजेट सुनिश्चित गर्न, उप–महानगरपालिकाअन्तर्गत १ देखि २३ वटै वडाको बजेटबाट ५ प्रतिशत कटौती गरी चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरूको पुनरावलोकन गर्ने प्रस्ताव नगर सभामा पेश गर्ने निर्णय’ बैठकले गरेको हो ।
नगरसभामा नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
त्यस्तै, कार्यपालिका बैठकले जेण्डर रेस्पोन्सिभ डिजास्टर प्रिपेडनेश एण्ड रेस्पोन्स सम्बन्धी जिइडिएसआई तथ्यांक प्रोफाइल तयारी कार्यका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
