बन्दै संयुक्त टुरिजम काउन्सिल

दुई देश बीचका पर्यटकीय सम्भावनाको खोजी र समस्या समाधानका लागि संयुक्त मञ्च ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठनको आवश्यकतामा जोड दिंदै क्रस बोर्डर टुरिजम कन्क्लेभ आइतबार सकिएको छ । शुक्रबार कन्क्लेभका लागि नेपालगन्ज आइपुगेका भारतीय पत्रकार, टुर अपरेटर र डेष्टिनेशन वेडिङ्ग प्लानरलाई आइतबार औपचारिक बिदाई गरिएसँगै कन्क्लेभ सकिएको हो ।

‘कन्क्लेभमा सहभागीहरू बीच नेपाल भारत क्रस बोर्डर टुरिजम सम्भावना र समस्या समाधानको साझा मञ्चका रूपमा काउन्सिल बनाउने कुरामा सहमति जुटेको छ’, नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कन्क्लेभका संयोजक श्रीराम सिग्देलले भने ।

नाट्टा बाँके च्याप्टरको संयोजनमा भएको कन्क्लेभका क्रममा पहिलो दिन वेडिङ्ग प्रोपर्टी भिजिटदेखि अन्तिम दिन आइतबार बाँके निकुञ्जको सफारीसम्मका गतिविधि गरिएका छन् । शनिबार क्रस बोर्डर टुरिजम कन्क्लेभका क्रममा औपचारिक उद्घाटन सत्र र विषयगत मन्थनको अन्तरसंवाद गरिएको थियो ।

त्यसक्रममा दुई देशबीचका पर्यटन व्यवसायी, टुर अपरेटरहरू बीच बी टु बी सेसन पनि गरिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिए । ‘व्यवसायिक स्टलहरूमा निकै राम्रो भिजिट भएकोले व्यवसायीहरू उत्साहित छन्’, अध्यक्ष रेग्मीले भने, ‘आगामी दिनमा यसले यहाँको पर्यटकीय गतिविधिलाई पक्कै बल पुग्ने विश्वास गरिएको छ ।’

यसबीच नेपाल–भारतका पर्यटन व्यवसायीहरू बीच संयुक्त बैठकको आयोजना पनि गरिएको छ । कार्यक्रम संयोजक श्रीराम सिग्देलका अनुसार, बैठकले जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि नाट्टा बाँके च्याप्टरको सहजीकरणमा सुरक्षा निकायको बैठक तथा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षा निकायको बैठक राखी पर्यटकमैत्री वातावरण बनाउन पहल लिने निर्णय गरेको छ ।

‘क्रस बोर्डर टुरिजम सहजीकरणका लागि अनलाइन आवेदन दिने र अनुमति दिने प्रणाली बनाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ’, पर्यटनमैत्री नाकाका लागि अनलाइन आवेदनको व्यवस्था महत्वपूर्ण हुने विश्वास गरिएको जानकारी दिंदै सिग्देलले भने ।

Exit mobile version