‘भित्री शान्ति, विश्वभरि सद्भाव’ भन्ने नारासहित आइतवार विश्व ध्यान दिवस नेपालगन्जमा विविध कार्यक्रमका साथ मनाइएको छ ।
योग समिति नेपाल र नेपाल चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यस्त र तनावग्रस्त जीवनशैलीबीच मानसिक तथा शारीरिक स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य रहेकोमा विज्ञहरूले जोड दिएका छन् ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराजले मानव जीवनमा ध्यानको महत्वबारे विस्तृत प्रवचन दिए । उनले दैनिक जीवनको अत्यधिक व्यस्ततामध्ये केही समय मात्र ध्यानमा समर्पित गर्न सकिए मानसिक शान्ति प्राप्त हुनुका साथै शारीरिक रूपमा पनि निरोगी बन्न सकिने बताए ।
योगगुरु गिरिराजले ध्यानको नियमित अभ्यासले तनाव, चिन्ता जस्ता मानसिक समस्यालाई कम गर्नुका साथै विभिन्न नसर्ने रोगहरूबाट बच्न समेत सहयोग पुग्ने उल्लेख गरे । ध्यान केवल शारीरिक अभ्यासमा सीमित नभई अनुशासित, सन्तुलित र सकारात्मक जीवनशैलीको मार्गदर्शक भएको उनको भनाइ थियो । ध्यानले जीवनमा सकारात्मक सोचको विकास गराउने उल्लेख गर्दै आधुनिक जीवनशैलीका कारण मानिसहरू शारीरिकभन्दा बढी मानसिक रूपमा अस्वस्थ बन्दै गएको भन्दै ध्यानलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. अधिकारीले चिकित्सकीय दृष्टिले ध्यानको प्रभावबारे जानकारी गराउँदै ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव तथा भावनात्मक असन्तुलन जस्ता समस्यामा सकारात्मक प्रभाव पार्ने बताए । ध्यानलाई जीवनशैलीमा समावेश गर्दा व्यक्ति मात्र नभई परिवार र समग्र समाज पनि स्वस्थ रहने उनको भनाइ थियो ।
दैनिक जीवनयापनको व्यस्तताका कारण आफ्नो शरीर र मनको हेरचाहका लागि समय निकाल्न नसक्ने व्यक्तिहरूका लागि ध्यान अत्यन्त उपयोगी र लाभदायी रहेको सरोकारवालाहरूले बताएका छन् ।
कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षक, आजीवन तथा साधारण सदस्यहरू, नेपालगन्जका चिकित्सकहरू लगायत चार सयभन्दा बढी योगी तथा स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा चार सयभन्दा बढी सहभागीहरूले सामूहिक ध्यान अभ्याससमेत गरेका थिए । आयोजकहरूले विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक शान्ति, आत्मचिन्तन र स्वास्थ्यप्रति सचेत बनाउने विश्वास व्यक्त गरेका छन् ।
विश्व ध्यान दिवसका अवसरमा सम्पन्न यस कार्यक्रमले ध्यानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सन्तुलित र शान्त जीवनशैलीतर्फ समाजलाई प्रेरित गर्ने अपेक्षा आयोजकहरूले गरेको योग समिति नेपालकी उपाध्यक्ष सुमित्राले बताइन् ।
