बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माण भइरहेको दुई लेनको पक्की पुलको बेस बनाइँदै । सिधनियाघाटमा दुई लेनको पक्की पुल तीव्र गतिमा अघि बढिरहेको छ । करिब एक अर्ब १९ करोड रुपैयाँ लागतको ७०० मिटर लामो पुल पुरानो जीर्ण पुलको सट्टा निर्माण भइरहेको हो ।
लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले २०८४ असार मसान्तसम्म सम्पन्न गर्ने गरी पुल निर्माण गरिरहेको छ । ११ मिटर चौडा पुलमा दुवैतर्फ १.७५ मिटर फुटपाथ रहनेछ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार पुलको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी भइसकेको छ ।
पुल सम्पन्न भएपछि बाँकेको नरैनापुर, राप्तीसोनारीलगायत क्षेत्रका बासिन्दाको दशकौँदेखिको आवागमन समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
