नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ । संघको लुम्बिनी प्रदेश कार्यसमितिको चौथो अधिवेशनबाट बाँकेका शालिकराम सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक बसन्त लामिछानेका अनुसार, सबैलाई साथ लिएर अगाडी बढ्न सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । शनिवार निर्वाचन समितिले सार्वजनिक गरेको जानकारी अनुसार सुवेदीसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्ष (प्रथम) मा रुपन्देहीका केशव श्रेष्ठ र उपाध्यक्ष (द्वितीय) मा दाङका दिपक भुसाल निर्वाचित भएका छन् । यस्तै, सचिवमा रुपन्देहीकै गोपाल प्रसाद न्यौपाने, सह–सचिवमा पाल्पाका किशोर भट्टराई र कोषाध्यक्षमा बर्दियाका गजेन्द्र कुमार यादव चयन भएका छन् ।
कार्यसमिति सदस्यतर्फ बाँकेका कृष्ण थापा र मोतीप्रसाद सुवेदी सहित विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा रुपन्देही, बर्दिया, पाल्पा, गुल्मी, दाङ, अर्घाखाँची, प्युठान, नवलपरासी र कपिलवस्तुका व्यवसायीहरू समेटिएका छन्, जसले प्रदेशव्यापी समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ, निर्वाचन संयोजक लामिछानेले दैनिक नेपालगन्जसँग भने ।
यस्तै, लेखा संयोजकमा बाँकेकै राजु प्रसाद काफ्ले निर्वाचित भएका छन् भने लेखा सदस्यमा अर्घाखाँचीका धनिश्वर पाण्डे र पाल्पाका तारा बहादुर सुनारी चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष सुवेदीले पुस्तक तथा स्टेशनरी व्यवसायीका साझा समस्या समाधान, व्यवसायिक हकहितको संरक्षण र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लुम्बिनी प्रदेशका सबै जिल्लाका व्यवसायीलाई एकताबद्ध गर्दै अघि बढ्ने बताए ।
संघको नयाँ कार्यसमितिको कार्यकालसँगै लुम्बिनी प्रदेशमा पुस्तक तथा स्टेशनरी व्यवसायको संस्थागत विकासमा नयाँ गति आउने अपेक्षा गरिएको लेखा समितिका निवर्तमान संयोजक सतिश निरौलाले बताए ।
