आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले बताएका छन् ।
आइतवार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा सहभागी बाँकेका सुरक्षा अधिकारीहरुबीच मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार संघीय सरकार, निर्वाचन आयोग लगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको बताएका हुन् ।
संघीय सरकारका सुरक्षा अंगले प्रदेश सरकारसँग समन्वय गर्न गरिरहेको आनाकानीलाई फेरिपनि गुनासैगुनासाका रुपमा उजागार गरेका मन्त्री अग्रवालले बाँकेका सुरक्षा अधिकारी उपेक्षा गरेको भन्दै उनीहरुकै सामु असन्तुष्टि पोखे । उनले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए । मन्त्री अग्रवालले प्रदेश सरकारले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी समेत गरे ।
सुरक्षाखबर डटकम अनलाइनको प्रथम बार्षिक उत्सब समारोहका प्रमुख अतिथिका रुपमा मन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गर्दै मर्यादित पत्रकारिताको लागि आफूले अपेक्षा गरेको बताए ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्षहरु रुद्र सुवेदी, निरज गौतमले सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्यमा जोड दिएका थिए ।
सो अवसरमा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने सुरक्षा निकायका बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा नेपाल प्रहरीका नायब निरीक्षक प्रविण डिसी, सहायक निरीक्षक नविनकुमार शाही, हवलदार पुरन चौधरी, सशस्त्र प्रहरी बलका सहायक हवल्दार (गोताखोर) मोहन विष्ट, सशस्त्र प्रहरी जवानहरु (गोताखोर) परमेश्वर थारु, रोशन केसी लगायत छन् । उनीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
सुरक्षाखबरका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन विनोद गौतमले गरेका थिए ।
