आजबाट नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव

स्थानीय उत्पादन, घरेलु उद्योग र सिर्जनशील उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपालगन्जमा आज बुधवारदेखि आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ आयोजना गरिंदैछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँकेको आयोजनामा, महासंघ र महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव हुने भएको हो । आज बुधवारदेखि माघ १० गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सवले शहरलाई उत्सवमय बनाउने गरि आवश्यक तयारी पूरा गरिएको आयोजकले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

‘महोत्सव स्थानीय उद्योगी, कृषक र साना व्यवसायीका लागि आफ्ना उत्पादनलाई बजारसँग जोड्ने साझा मञ्च बन्नेछ,’ आयोजक मूल समितिका संयोजक समर बहादुर खत्रीले भने । नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्षसमेत रहेका संयोजक खत्रीले महोत्सवको मूल आत्मा ‘स्थानीय उत्पादन, स्थानीय पहिचान’ भन्ने सन्देशमा केन्द्रित रहेको बताए ।

घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री र पर्यटनसँग सम्बन्धित सेवाहरू एकै स्थानमा अवलोकन र खरिद गर्न सकिने व्यवस्था गरिएको छ। करिब २ सयवटा स्टलमार्फत स्थानीय उद्यमशीलताको विविध रूप दर्शाइने आयोजकले जनाएको छ ।

आयोजक मूल समितिका सह–संयोजक बिष्णु प्रसाद खनालले व्यापारसँगै मनोरञ्जनलाई समेत जोड दिँदै भने, ‘महोत्सवलाई परिवारमैत्री बनाइएको छ ।’ उनका अनुसार, लण्डन ब्रिज, जलपरी, फिस टनेल तथा बाल उद्यानजस्ता संरचनाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । साथै थारु गाउँ निर्माण गरेर थारु समुदायको मौलिक संस्कृति, कला र परिकारलाई प्रवद्र्धन गरिएको छ, जसले सांस्कृतिक पर्यटनलाई समेत टेवा पुग्ने विश्वास गरिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । चर्चित कलाकारहरूसँगै स्थानीय प्रतिभालाई समेत प्राथमिकता दिइनुले स्थानीय सिर्जनशीलताको सम्मान र पहिचानलाई बल पु¥याउने आयोजकको भनाइ छ । ‘विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताले बालप्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्नेछ,’ आयोजकले भनेको छ ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता चौधरीले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । आयोजकका अनुसार, उद्घाटन अवसरमा विभिन्न समुदायको झाँकीसहितको सांस्कृतिक ¥यालीले नेपालगन्जको सामाजिक विविधता र सहअस्तित्वलाई झल्काउनेछ ।

आयोजकहरूका अनुसार यो महोत्सव केवल किनमेल र मनोरञ्जनको थलो मात्र होइन, स्थानीय उद्योग, व्यापार र उद्यमशीलताको आत्मविश्वास बढाउने साझा प्रयास हो। महोत्सवले स्थानीय उत्पादनलाई बजार, पहिचान र सम्भावनासँग जोड्दै आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

महोत्सव अवधिमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायिका शान्ति श्री परियार, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरुको कला प्रदर्शन गरिने तयारी आयोजकले गरेको बताएको छ ।

Exit mobile version