नेपालगन्जका स्थानीय युवाहरूको सक्रियतामा विहिवार ‘आर्म रेस्लिङ’ कार्यक्रम आयोजना भएको छ ।
करिब १० जना युवाहरूको समूहले आर्म रेस्लिङप्रति रुचि राख्ने खेलाडीहरू खोजी गरी स्वयं–प्रायोजनमा कार्यक्रम आयोजना गरेको हो । जसको नेतृत्व स्थानीय युवा आर्यन गुप्ताले गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य लुकेर रहेका आर्म रेस्लरहरूलाई बाहिर ल्याउँदै नेपालगन्जमा पनि सक्षम खेलाडी छन् भन्ने कुराको सन्देश प्रवाह गर्न खोजिएको नेतृत्वकर्ता युवा गुप्ताको भनाइ छ । ‘बाँकेका सक्षम आर्म रेस्लरहरू रहेको सन्देश यो आयोजनाले दिएको छ,’ आयोजकले दैनिक नेपालगन्जसँग भने ।
आगामी दिनमा राष्ट्रिय स्तरको आर्म रेस्लिङ प्रतियोगितामा नेपालगन्ज तथा बाँके जिल्लाबाट खेलाडीहरू सहभागी गराउने प्रयासका रूपमा यस कार्यक्रमलाई हेरिएको छ । युवाहरूको यस्तो पहलले स्थानीय खेल प्रतिभा पहिचान र प्रोत्साहनमा सकारात्मक योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।
































